काठमाडौं। पछिल्लो समय निकै चर्चामा आएकी कांग्रेस नेतृ मनिता घिमिरेले अनौठो तरिकाले धरान उपमहानगरपालिकामा मेयर पदमा दावी गरेकी छिन्।
कांग्रेसबाट उपमेयर पदमा टिकट पाउने निश्चित जस्तै भएको बेला उनले सो पद त्यागेर मेयरमा दावेदारी प्रस्तुत गरेकी हुन्। पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला, वरिष्ठ नेता रामचन्द्र पौडेल तथा सुनसरी कांग्रेसका सभापति राजीव कोइरालालाई पत्र लेखेर मनिताले मेयरमा दावेदारी प्रस्तुत गरेकी हुन्।
मनिताले माओवादीसँग चुनावी तालमेल गरिएकोमा पार्टी नेतृत्वको कडा आलोचना पनि गरेकी छिन्। उनले एमालेलाई सच्याउने र सहि बाटोमा लगाउने जिम्मेवारी पनि कांग्रेसको हो भन्दै पत्रमा लेखेकी छिन्, जनताले विवकेले मत दिने हुन्, तालमेल गरेर जनताको विवेकमाथि नेपाली कांग्रेसले अविश्वाश गर्न हुँदैन । तालमेल गरेर अरु पार्टीका लागि कांग्रेसले जनमत बटुलिदिने होइन।
कांग्रेसले महिलालाई अधिकांश ठाउँमा उपप्रमुखमा मात्र उम्मेदवार बनाएको, प्रमुखमा उम्मेदवार नबनाएकोमा मनिताले पत्रमा कडा आक्रोश पोखेकी छिन्।
उनी लेख्छिन्, पहिलो चरणको चुनाव हेरेर म यो निष्कर्षमा पुगेको छु कि महिलाले अधिकांश ठाउँमा प्रमुख पदमा दावी पनि गरेनन् । यो गल्ती सच्याउन पनि म धरान उपमहानगरपालिकाको प्रमुख पदमा उम्मेदावर बनाउन पार्टीसँग विनम्र आग्रह गर्दछु ।
आफ्नो उम्मेदवारीले देशभरी कांग्रेसको चुनावी अभियानलाई सघाउ पुग्ने दावी पनि उनले गरेकी छिन्। उनी लेख्छिन्, नेपाली कांग्रेस पहिलो चरणमा रक्षात्मक बनेर उपस्थित भएको थियो भने प्रतिस्पर्धी दलहरु आक्रामक थिए । अब कांग्रेसले रचनात्मक आक्रामकताको नीति लिन आवश्यक छ । यसका लागि धरान सहितका प्रमुख र धेरै मतदाता भएका स्थानीय तहमा महिलालाई प्रमुखको उम्मेदवार बनाइनुपर्छ ।
मनिताको भनाई छ, उपयुक्त उम्मेदवार चयन गर्नु भनेको चुनाव आधा जित्नु हो । उनले धरानलाई आफूले देशकै उत्कृष्ट थलो बनाउनसक्ने दावी पनि गरेकी छिन्।