४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

भरतपुरः मतगणना अघि बढाउन एमालेको माग


१५ जेष्ठ २०७४, सोमबार  

0
Shares

भरतपुर । नेकपा एमाले चितवनले भरतपुर महानगरपालिकाको मत गणना तत्काल सुचारु गर्न माग गर्दै मतपत्र च्यात्ने दोषीहरुलाई अबिलम्ब कारवाहीको माग गरेको छ ।

एमाले जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेलले सोमबार बिहान पत्रकार सम्मेलन गरी जारी गरेको विज्ञप्तिमा आइतबार रातीको घटना विवरण प्रस्तुत गर्दै च्यातिएका मतपत्र थाती राखेर बाँकी मत गन्न माग गरिएको हो । निर्वाचन आयोगका गणक र कर्मचारीले मात्रै प्रवेश गर्न मिल्ने ठाउँमा माओवादीका मतगणना प्रतिनिधिहरु सिवाकोटी, न्यौपाने र दिलिप पौडेल प्रवेश गरी मतपत्र च्यातेको किटानी उल्लेख गरिएको छ ।

‘वडा नम्बर १९ को शान्तिपूर्ण ढंगले मत गणना भई करिव २४०० मत गणना सम्पन्न हुने अवस्थामा निर्वाचन कार्यालयका मत गणकहरुले मत गणना गर्ने ? भन्दै माओवादी केन्द्रको नेतृत्वको निर्देशनमा उक्त पार्टीका द्रोण सिवाकोटी, मधु न्यौपाने, दिलिप पौडेल लगायतका मत गणना प्रतिनिधिहरु कर्मर्चारी मात्र प्रवेश गर्न पाउने मत गणना स्थलमा अकस्मात छापामार शैलीमा प्रवेश गरी कर्मचारीको हातमा रहेको र भुईंमा थुपारिएको मतपत्र आफ्नो हातमा लिई च्यातेका थिए’ एमाले जिल्ला अध्यक्ष पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘उक्त मतपत्रहरु च्यातिंदाको अवस्थामा नै नजिकै रहेका सुरक्षाकर्मीले तत्काल माओवादी केन्द्रका नेता एवं यस घटनाका मुख्य दोषीहरु द्रोण सिवाकोटी र मधु न्यौपानेलाई रंगेहात पक्राऊ समेत गरेको छ ।’

 

एमाले जिल्ला अध्यक्ष पोखरेलले च्यातिएको मतपत्र थाती राखेर बाँकी मतपत्र गणना गर्न आफूहरुले निर्वाचन अधिकृतसमक्ष माग गरे पनि निर्वाचन अधिकृतले मत गणना स्थगित गरेकोको उल्लेख गरेका छन् । ‘च्यातिएको मतपत्र र घटनाको बारेमा सत्यतथ्य जानकारी मिडिया मार्फत सार्वजनिक गर्न र च्यातिएका मतपत्रहरु अलग राखी बाँकी मतपत्रहरु तत्काल गाणना गर्नु पर्दछ भन्ने निर्वाचन अधिकृत समक्ष माग राखेका थियौं’ पोखरेलको विज्ञप्तिमा उल्लेख छ, ‘तर, निर्वाचन अधिकृतले हाम्रा मागलाई सुनुवाई नगरी गणना कार्य स्थगित गरिएको छ ।’ साथै एमाले चितवनले घटनाका दोषीहरुलाई कारवाही गरी रोकिएको मतगणना तत्काल अघि बढाउन माग गरेको छ ।

मतपत्र च्यातिरहेको अवस्थामा माओवादीका प्रतिनिधिहरु रंगेहात पक्राऊ परे पनि माओवादी निकटका सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले घटनामा एमालेलाई मुछेकोप्रति उनले दुख ब्यक्त गरेका छन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०७४, सोमबार  ३ : ०७ बजे