४ माघ २०८१, शुक्रबार | Fri Jan 17 2025

न्युयोर्कमा मनाइयो एभरेस्ट डे


१६ जेष्ठ २०७४, मंगलबार  

0
Shares

एभरेस्ट टाइम्स/न्युयोर्क

सर्वोच्च शिखर सगरमाथामा पहिलो मानव पाइला पुगेको सम्झनामा न्युयोर्कमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस विशेष कार्यक्रमको साथ मनाइयो । न्युयोर्कस्थित शेर्पा किदुगको भवनमा आयोजित उक्त दिवस युएस नेपाल क्लाइबर्स एसोसियसन र शेर्पा किदुगले संयुक्त रुपमा आयोजना गरिएको थियो । दुई चरणमा भएको कार्यक्रम सुरुमा हिमाल आरोहणको क्रममा दिवंगत आरोहीहरुको सम्झनामा गुम्बामा लामा गुरुहरुद्वारा मन्त्रपाठ गरी मनाइएको थियो भने दोस्रो चरणमा एभरेस्ट डे को सन्र्दभमा विभिन्न व्यक्तित्वहरुको मन्तव्यका साथ औपाचारिक कार्यक्रम गरिएको थियो । दर्जनौं बढी सगरमाथा आरोहीहरुको उपस्थितिमा सम्पन्न कार्यक्रममा शेर्पा किदुग, शेर्पा रिग्सुङलोप्टा र विभिन्न संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेका थिए ।


‘सगरमाथामा पहिलो पाइला राखेको दिनलाई सम्झदैं सफल आरोहणको खुसीयाली बाँड्दै र हिमालमा जीवन गुमाउनेहरुको स्मृतिमा हामीले न्युयोर्कमा वर्षनी एभरेस्ट डे को रुपमा मनाउदै आएको हो,’ युएस नेपाल क्लाइबर्स एसोसियसनका अध्यक्ष पासाङरिन्जी शेर्पाले भने, ‘सुरुको दिनमा हामीले गुम्बामा बत्ती बालेर पुजापाठ गदै एभरेस्ट डे मनाउने गरेका थियो तर विगत केही वर्षदेखि भने एभरेस्ट डे को महत्वबारे संस्थागत रुपमा आयोजना गदै आएको हो ।’ उनकाअनुसार पहिलोपटक शेर्पा किदुगसँग मिलेर एभरेस्ट डे कार्यक्रम मनाएको हो ।
कार्यक्रममा एसोसियसनका महासचिव ङवाङ ङिमा शेर्पाले सगरमाथा आरोहण र शेर्पा आरोहीहरुको संघर्षको साथै एभरेस्ट डे को महत्वबारे मन्तव्य दिएका थिए । उक्त अवसरमा न्युयोर्क सिटिको क्वीन्स काउन्टीको बोर्ड मेम्बार तथा किदुगका पुर्व अध्यक्ष लोप्साङ ठिन्ले शेर्पाले विश्वमा नेपाल र नेपालीको प्रतिष्ठालाई उच्चो बनाउने एभरेस्ट डे कार्यक्रमले प्रवासमा नेपालको चिनारी दिदै आएको बताए । सगरमाथा आरोहीहरु अवद्ध एसोसियसनले आगामी दिनमा सिटिसँग मिलेर पनि विभिन्न कार्यक्रम गर्न सकिने सुझाव दिएका थिए । त्यस्तै शेर्पा किदुगका अध्यक्ष उर्गेन शेर्पाले किदुगले पहिलोपटक आरोहीहरुको संस्थासँग मिलेर एभरेस्ट डे कार्यक्रम मनाउन पाएकोमा खुसी व्यक्त गर्दै नेपाल डे परेड कार्यक्रम सफल पार्न एसोसियसनले खेलेको भुमिकाको सराहना गरे ।


किदुगका महासचिव तेन्डी शेर्पाद्वारा सन्चालन गरिएको कार्यक्रममा सगरमाथा आरोहण गर्ने पहिलो दक्षिण एसियाली पत्रकार तथा एसोसियसनका सल्लाहकार आङछिरिङ शेर्पाले नेपाल सरकारले मुलुकमा विविध कार्यक्रमका साथ मनाउदै आएको एभरेस्ट डे कार्यक्रम प्रवासमा नेपाल सरकारको निकायले मनाउन नसकेकोमा आश्चर्य लागेको बताए । नेपालको पर्यटन प्रर्वद्धनका लागि नेपाल सरकारले राजनीतिक दलको कार्यकर्तालाई भन्द विदेशीमाझ चर्चित सगरमाथा आरोहीहरुलाई पर्यटन दुत बनाउन सकेम नेपालको पर्यटन प्रर्वद्धनमा धेरै टेवा पुग्ने धारणा उनले राखेका थिए । एभरेस्ट कार्यक्रममा रिग्सुङ लोप्टाका प्रमुख प्रशिक्षक लोपेन गिर्मि छोढक, लुम्बिनी विकास कोषका पूर्व सदस्य सचिव तथा किदुगका सल्लाहकार आङदावा शेर्पा, किदुगका पूर्व अध्यक्ष तथा सल्लाहकार कर्मा गेल्जेन शेर्पा, कान्छी आरोही मिङकिपा शेर्पा , जनजाती महासंघका महासचिव प्रेम गुरुङ र नेपाल र तिब्बतको क्रस आरोहण गर्ने आङफुर्वा शेर्पाको पनि उपस्थिति रहेको थियो ।

तस्विर:विनोद अधिकारी

प्रकाशित मिति : १६ जेष्ठ २०७४, मंगलबार  ९ : १५ बजे