१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

काबुल घटनाप्रति अमेरिकी राष्ट्रपतिद्वारा निन्दा


१८ जेष्ठ २०७४, बिहिबार  

0
Shares

वासिङ्गटन(एजेन्सी)- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानको राजधानी काबुलमा भएको भीषण बम आक्रमणको निन्दा गरेको ह्वाइट हाउसद्वारा बुधबार प्रकाशित विज्ञप्तिमा जानकारी दिइएको छ ।

कैयाँै कूटनितिक प्रतिनिधिहरुको कार्यालय भएको जानबाक स्क्वायरमा बुधबार बिहान ८ः२५ मा भएको यस आक्रमणमा परी ८० जनाभन्दा बढीको मृत्यु भएको थियो भने, ३५० भन्दा बढी घाइते भएका थिए ।

ह्वाइट हाउसद्वारा जारी विज्ञप्तिका अनुसार अफगानिस्तानमा रहेको अमेरिकी दूतावासमार्फत् अफगानिस्तानलाई आवश्यक सहयोगका लागि अमेरिका प्रयासरत रहेको जनाइएको छ ।

बुधबार मध्य काबुलमा भएको शक्तिशाली बम विस्फोटनका कारण कुटनीतिक नियोगका कार्यालयहरु, राष्ट्रपति कार्यालयलगायतका महत्वपूर्ण स्थानहरु प्रभावित भएका थिए ।

यसैबीच, अफगान राष्ट्रिय सुरक्षा निर्देशनालय र गुप्तचर निकायले बुधबार संयुृक्तरुपमा प्रकाशित विज्ञप्तिमा यस आक्रमणमा हक्कानी नेटवर्कको हात रहेको दाबी गरेका छन् ।

गृह मन्त्रालय प्रवक्ता सेद्धिक सेद्धिकीले आफ्नो ट्वीटरमार्फत यस्तो दाबी गरिएको समाचार पोष्ट गर्नुभएको भएता पनि हक्कानी नेटवर्कको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।

आतङ्ककारी समूहसँगआवद्ध हक्कानी समूह अफगानिस्तानको पूर्वी प्रान्तहरु र राजधानी काबुलमा ठूलठूला आक्रमणको जिम्मेवार रहेको छ ।

आक्रमणमा परी ८० जनाभन्दा बढीको मृत्यु भएको पुष्टि भएपनि अझै केही व्यक्ति हराइरहेका छन् । गृह मन्त्रालयले चार जना प्रहरी नै हराइरहेको बताएको छ ।

त्यसैगरी इरानी एक सञ्चार माध्यमले विस्फोटनका कारण आफ्ना एक जना सम्वाददाता अझै हराइरहेको जनाएको छ ।

घाइतेहरु मध्ये केहीको अवस्था अत्यन्त चिन्ताजक रहेकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने सरकारी अधिकारीको अनुमान रहेको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७४, बिहिबार  ५ : १८ बजे