काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयशंकर नायकले यही जेठ २१ गते नै प्रधानमन्त्रीको लागि निर्वाचन हुने बताएका छन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री नायकले एमालेले संसद अवरुद्ध गरेपनि यही जेठ २१ गते चयन हुने बताएका हुन् । उनले भने,‘एमालेको अवरोधका कारण आजको बैठक बस्न सकेन, अब अर्को बैठक जेठ २१ गते बस्दैछ, सायद भोलि नै सभामुखले प्रधानमन्त्री निर्वाचनको लागि परामर्श समितिको बैठक बस्छ्, त्यसले निर्वाचनको कार्यतालिका सार्वजनिक गर्दैछ।’ मन्त्री नायकका अनुसार शनिबार नै कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको लागि उम्मेद्धवारी दिनेछन् ।
साक्षात्कारमा मन्त्री नायकले भरतपुर महानगरपालिकाको मतपत्र च्यातिएको विषयलाई लिएर एमालेले संसद अवरुद्ध गर्नु गलत भएको टिप्पणी गरे । उनले भने,‘एमालेले भ्रम सिर्जना गरिरहेको छ, हुन त उसले पहिलेदेखि नै भ्रमहरु फैलाएको थियो, निर्वाचनको मुखमा पनि उसले हुँदैन कि भनेर भनेको थियो तर निर्वाचन समयमै सम्पन्न भएपछि उहाँहरुलाई झनै औडाहा भएको छ।’
उनले पहिलो चरणको निर्वाचन सम्पन्न भएसँगै अब एमालेको अघि कुनैपनि भ्रम नरहेको समेत उनले जिकिर गरे । उनले भरतपुर महानगरपालिकाको विषयलाई एमालेले रेणु दाहाललाई परास्त गर्न सके माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नै परास्त गरिएको भन्ने भ्रम फैलाउन यस्तो गरिरहेको बताए । नायकले भने,‘प्रचण्डको राजनीति धमिलो हुन्छ भन्ने एमालेका साथीहरुले सोचेर नै भरतपुरमा उत्तेजित वातावरण बनाउनुभएको हो।’