काठमाडौं । प्रहरी डिअाइजी नवराज सिलवाल अस्पताल भर्ना भएदेखि बेखबर छन् । ‘आफूलाई आईजिपी बनाईपाउँ’ भन्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेपछि प्रहरीको सोधपुछमा परेका उनी प्रेसर बढेको भन्दै बिएन्डबी अस्पतालमा भर्ना भएका थिए ।
गत वैशाख ११ गते अस्पतालमा भर्ना भएका उनी कुनै जानकारीबिना अस्पतालबाट डिस्चार्ज भए । अस्पताल भर्ना हुदाँ मिडियासँग खुलेका उनी अहिले भने चुपचाप छन् । सर्वसाधारणले पनि चुनावी माहोलका कारण उनीबारे त्यति ध्यान दिएका छैनन् ।
यता सिलवालको मुद्दा भने सर्वोच्चले अनेक कारण देखाइ सारेको सारै छ । उनको मुद्दाको सुनुवाई असार १ गते हुने अर्को मिति तोकिएको छ ।
अाज जेठ १८ गते बिहीबार न्यायाधीशहरु चोलेन्द्र शमशेर जवरा, जगदीश शर्मा पौडेल, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सपना प्रधान मल्ल, तेजबहादुर केसी र पुरुषोत्तम भण्डारी सहितका सातजना न्यायाधिश सम्मिलित वृहद पुर्ण इजलाशले उक्त मुद्धा सुनुवाई गरेको थियो ।
गत फागुन १ गते सरकारले जय बहादुर चन्दलाई प्रहरी प्रमुखमा नियुक्त गरेपछि शुरु भएको ‘आईजिपी प्रकरण’ झण्डै साढे तीन महिनादेखि साम्य हुन सकेको छैन । सर्वोच्चले जय बहादुर चन्दको नियुक्ती बदर गरेर नवराज सिलवाललाई आईजिपी बनाउन परमादेश जारी गरेपनि सरकारले प्रकाश अर्याललाई आईजिपी बनाएपछि शिलवाल पुन अदालतको ढोका ढकढक्याउन पुगेका थिए ।
बिहीबार उक्त मुद्दा सुनुवाई शुरु भएपछि सरकारका तर्फबाट महान्यायाधिवक्ता रमन श्रेष्ठले सर्वोच्चले आईजिपी मुद्दामा नियमसंगत कदम नचालेको भन्दै आपत्ति जनाएका थिए ।