सम्पादकीय
नेपालमा रहेको विश्वकै सर्वोच्च शिखर सगरमाथामा मानव पाइला पुगेको यसपटक ६४ वर्ष पुगेको छ । सगरमाथा हीरा हो कि मोती ६४ वर्षअघि नेपाललाई कुनै जानकारी थिएन । जब मानव पाइला शिखरमा पुग्यो तब सगरमाथा हीरामोतीभन्दा बढी भयो ।
विश्वमान चित्रमा कुनै कुनामा भेटिने देश हिमाल र सगरमाथा नभएको भए सायदै चिनिन्थ्यो होला । चिनिनुका अनेक विशेषताहरु हुन्छन् । हामीलाई सगरमाथाले नाम दिएको छ, दाम दिएको छ ।
‘हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरो, गम्केर बजा खैंजडी, झम्केर नाँच मुजुरा’ धर्मराज थापाले गाएको यो गीत नेपालीको मनमनमा घन्किरहेको छ । तेन्जिङ र न्यजिल्यान्डका एडमान्ड हिलारीले बनाएको त्यो बाटो भएर आज हजारौं सगरमाथाको शिरमा पुगेका छन् र कैंयौं रेकर्ड बनाएका छन् । कैंयौंले आफुलाई सगरमाथा जतिकै चर्चित बनाएका छन् । नामदाम कमाएका छन् ।
चोमुलुङमा अर्थात धर्तीकी आमा र इश्वरका रुपमा स्थानीय शेर्पा समुदायले पुज्दै आएको सगरमाथा अहिले नेपाल चिनाउन तक्मा भएको छ । सगरमाथाले देशका लागि नाम दाम दिएपनि राज्यले यस क्षेत्रमा खासै व्यवस्थित बनाउन सकेको छैन । सफल सगरमाथा आरोहणको ६४ औं वर्ष पार गरिसक्दा दसौं सगरमाथा दिवस मनाइरहेका छौं ।
सगरमाथाकै देश नेपालको काठमाडौंमै पनि सगरमाथा दिवस कर्मकाण्डीभन्दा बढी केही हुन सकेको छैन । पर्यटन बोर्डभित्र सभा र केहीको भाषणबाहेक यो दिवसमा अरु हुन सकेको छैन । नेपालले विदेशी नियोग आफ्नो राजदुतावास भएको सबै मुलुकमा सगरमाथा दिवसको आयोजना गरेमा उक्त देशका आरोहीहरुमा उत्साह सिर्जना हुने थियो । जुन सरकारले अझैसम्म पनि गर्न सकेको छैन । यसले अन्तर्राष्ट्रिय रुपमा नेपालको प्रचार हुनुका साथै पर्यटन प्रबद्र्धनका लागि ठुलो भूमिका निभाउने थियो ।
सगरमाथालाई अझै अग्ल्याउने हो भने सरकारले अहिलेबाट नै अर्को वर्षको सगरमाथा दिवस वृहत रुपमा मनाउन थाल्नुपर्छ । यसका लागि सगरमाथामा रेकर्ड बनाएका स्वदेशी तथा विदेशी आरोहीलाई विभिन्न देशमा ‘एम्बासडर’ बनाउन सकिन्छ । संसारकै अग्लो शिर हाम्रो देशमा छ भनेर हामीले गर्व गर्न सक्नुपर्छ, सबैलाई भन्न सक्नुपर्छ । यसका लागि राज्यले प्रचारको हर तरिका अवलम्बन गर्नुपर्छ ।