६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

नेपाल आदिवासी जनजाति महिला महासंघ अमेरिकाको औचित्य तथा गतिविधि


२१ जेष्ठ २०७४, आइतबार  

0
Shares

इन्दिरा चोङबाङ/न्युयोर्क

नेपाल आदिवासी जनजाती महिला महासंघ अमेरिका विधिवतरूपमा सन् २०१० मा न्युयोर्कमा स्थापना भएको हो । आदिवासी जनजातीको भेषभुषा, भाषा, संस्कार, संस्कृति, रीतिरिवाज जस्ता विषय विश्वव्यापिकरणका प्रभावका कारण संकटमा परिरहेको अवस्थामा यिनीहरूको संरक्षण र सम्बद्र्धन अहिलेको समयमा महत्वपूर्ण आयाम भएको बिषयलाई हृदयंगम गर्दै अमेरिकामा रहेका नेपाली आदिवासी जनजाती महिलाहरूलाई एकताको सुत्रमा बाँधेर अधि बढ्नु यो संस्थाको मुल उद्देश्य रहेको छ ।
सम्पूर्ण महिला अधिकारको लडाईमा उत्रिरहेको समयमा आदिवासी जनजाती महिला महासंघ नै किन चाहियो भन्ने प्रश्न यो संस्थाको सुरूवातदेखि नै खडा भएको छ । महिला मात्र भनेर सिंगो महिलाका विभिन्न सन्दर्भमाथि छलफल र बिमर्श भएपनि त्यहाँभित्र आदिवासी महिलाभित्रका विभिन्न सवालहरू ओझेलमा परेकाले आदिवासी जनजाती महिलाहरूले आफ्नो उतरदायित्व निर्बाह गर्नको लागि एकजुट हुन आजको आवश्यकता देखियो । यसो भन्दैमा महिलाको मुख्य मुद्दाबाट टाढिन खोजेको भने होईन । आफ्नो मुद्दाहरूलाई समेत मूल मुद्दामा समेटेर लाने प्रयास हो । संगठित भएर अघि बढ्नाले दृश्य तथा अदृश्य विभिन्न सकारात्मक पक्ष र प्रभावहरू रहेका छन् भने विदेशी भूमिमा यसका असर र प्रभावको मुल्य झन् अमापनीय नै छ ।

आदिवासी जनजाती महिलाले महसुस गरेको बिषय के हो भने म कहाँबाट आए, मेरो संस्कार र सँस्कृति के हो अर्थात मेरो सामाजिक दायित्व के हो भन्ने मुल मन्त्रलाई आजका नयाँ पिढीलाई आत्मसात गराउनु सक्नु आजको सन्दर्भमा महत्वपूर्ण आयाम हो । यसको महत्व परदेशमा जति छ स्वदेशमा कम हुन सक्छ । मान्छे आफ्नै सुखसयल र अमनचयनको लागि मात्र बाच्नु भनेको सिर्फ आफूभित्र हराउनु हो । यदि हामी सामाजिक हैसियत लिएर जन्मिएका छौ भने ती हाम्रा ऐतिहासिक मौलिकताहरूको सम्बद्र्धन र संरक्षण गर्नु हामी सबैको दायित्व हो यही बिषयलाई आदिवासी जनजाती महिलाले हृदयंगम गरेको हो ।

स्थापनाकालदेखि नै महासंघको हैसियतमा दर्ता भएकोले यस संस्थाले यहाँका सम्पूर्ण जातजातीका महिलालाई आआफ्नो जातीय संगठनमा संगठित गर्न खोजेको हो तर यहाँको बस्तुस्थिति र समयलाई मध्यनजर गर्दै यहाँ रहेका नेपालका आदिवासी जनजाती महिलाको विचारलाई आत्मसम्मान गर्दै सम्पूर्ण जातजातीको प्रतिनिधित्वलाई यसै संस्थामा आबद्ध गर्ने निणर्य अनुसार विधान निर्माण भएको छ । विधानमा उल्लेख्य सम्पूर्ण उद्देश्यहरू हासिल गर्न नसकेपनि स्थापनाकालदेखि नै यस संस्थाले विभिन्न कल्याणकारी क्रियाकलापहरू लगायत केही महत्वपूर्ण कार्यहरू पनि गर्दै आएको छ ।

यस संस्थामा आबद्ध भएका सम्पूर्ण सदस्यहरू एक परिवार भएर सुखदुःख र खूसीयाली आदानप्रदान गर्ने, कुनै सदस्यलाई आपतबिपत परेको अवस्थामा एउटै परिवार सरह सरसहयोग गर्ने प्रचलनले आपसी सद्भाव र सहिष्णुताको भावनाको विकास भएको छ भने विभिन्न अवसरमा आयोजना हुने अन्तक्रिया कार्यक्रमबाट आदिवासी जनजातीका बिभिन्न मुद्दाहरूमा छलफल हुनाले आफ्नो पहिचान र भाषा संस्कारको सम्बन्धमा के कस्ता प्रावधानबाट यिनीहरूको प्रवद्र्धन र प्रसारण गर्न सकिन्छ भन्ने सम्बन्धमा भएको छलफलबाट ब्यबहारिक ज्ञान र अनुभव प्राप्त भएको छ । आफ्ना सन्ततिहरूमा कुन कुराको ज्ञान कसरी पस्कने भन्ने सन्दर्भमा महिलाको भुमिका प्रमुख हुनाले पनि यस सँस्थाको आबश्यकता ठहरिएको हो ।


संस्थाले विभिन्न अवसरमा आदिवासी जनजाती महिलाका विज्ञहरूसँग बिभिन्न बिषयमा छलफल गर्दै आएको छ । उदाहरणका लागि विभिन्न समयमा नेपालबाट संयुक्त राष्ट्र संघको आदिवासी जनजाती सम्बन्धी मुद्दा हेर्ने संस्था युनाईटेट नेसन फर इनडिजिनस इस्यू मा नेपालबाट भाग लिन आएका आदिवासी बिशेषज्ञहरूसँग छलफल गर्दै आएको छ भने ग्लउाष्ष् का प्रतिनिधीहरूसँग पनि समय समयमा आदिवासी जनजातीका बिभिन्न बिषयमा छलफल गर्दै आएको छ ।

समय सन्दर्भ र परिस्थितिलाई ख्याल गर्दै हरेक वर्षको नारी दिवसको अवसरमा यस संस्थाले महिला तथा नयाँ पिढीहरूलाई सृजनात्मक गतिविधि जस्तै लेखन क्रियाकलापको आयोजना गर्ने तथा महिलाका बिषयमा आ आफ्ना बिचार या अन्य सृजना प्रस्तुत गर्ने अवसर प्रदान गरेर क्षमता अभिबृद्धि गर्ने जस्ता कार्यहरू गर्दै आएको छ । त्यसैगरी नेपालका बिशेष अवसर तथा चाडबाडहरूमा भेटघाट र छलफल कार्यक्रमको आयोजना गर्ने तथा बार्षिकरूपमा एकपटक बारबिक्यू अर्थात वनभोज कार्यक्रमको आयेजना पनि गर्दै आएको छ ।
उक्त कार्यक्रमबाट संस्थालाई थोरै योगदानको जम्मा गर्ने उद्देश्य रहेको छ भने यहाँ रहेका नेपालका आदिवासी जनजाती महिलाहरूलाई अपनत्वको भावनाको विकास भएको छ । यसबाट मनोरञ्जन प्रदान गर्ने महत्वपूर्ण अवसर पनि प्रदान भएको छ । संस्थाले आफ्ने पदाधिकारी तथा सदस्यहरूका साथै शुभेच्क्षुकबाट प्राप्त भएका थोरै रकम उठाएर नेपालका भूकम्पपीडितहरूलाई पनि नेपाल राष्ट्रिय आदिवासी जनजाति महासंघमार्फत सहयोग गर्दै आएको छ ।

आगामी दिनमा नोपालका आदिवासी जनजाती महिला, बालबालिकामा आप्रवासको प्रवह सम्बन्धमा खोज अनुसन्धान गर्ने, कल्याणकारी कार्यको निरन्तरता दिने तथा अमेरिकाका विभिन्न राजनीतिक र कानुनी बिषयमा सचेतना जगाउन विभिन्न संघसंस्थासँग सहकार्य गर्ने जस्ता प्रमुख विषयहरूमा संस्थाको प्राथमिकता जाने निर्णय छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७४, आइतबार  ४ : १५ बजे