कतारसँगको कूटनीतिक सम्बन्ध अन्त्य गर्ने कदमको नेतृत्व साउदी अरेबियाले गरेको हो । तर, सबैभन्दा पहिले कूटनीतिक सम्बन्ध अन्त्य भएको घोषणा बहराइनले ग-यो । त्यसपछि साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (युएई) र इजिप्टले सम्बन्ध अन्त्य गरे । यो क्लबमा यमन, लिबिया र माल्दिभ्स पनि जोडिए । साउदीका अधिकारीहरूले ‘आतंकवादी र अतिवादीको आक्रमणबाट राष्ट्रलाई हुन सक्ने खतराबाट जोगाउन’ यस्तो निर्णय गरिएको बताएका छन् । यो तर्कमा अन्य राष्ट्रहरूले पनि सहमति जनाएका छन् ।
पछिल्लो समय कतारसँग यी राष्ट्रहरूको सम्बन्ध चिसिएको थियो । दुई साता पहिले मात्र इजिप्ट, साउदी अरब, बहराइन र युएईले अल जजिरालगायतका कतारी समाचार संस्थाको वेबसाइट ब्लक गरेका थिए । कतारी अमिर सेख तमिम विन हमाद अल थानीले साउदी अरबको आलोचना गरेको सामग्री कतारी सञ्चारमाध्यममा प्रसारण गरिएको भन्दै ती समाचार संस्थाको वेबसाइट ब्लक गरिएको हो । तर, कतार सरकारले यो कदम ‘लज्जास्पद साइबर अपराध’ भएको भन्दै खण्डन गर्दै आएको छ । यसअघि सन् २०१४ मा साउदी, बहराइन र युएईले कतारबाट आफ्ना राजदूतलाई फिर्ता बोलाएका थिए ।
हाल कूटनीतिक सम्बन्ध अन्त्य गरेका राष्ट्रले कतारले इस्लामिक अतिवादी समूहलाई सहयोग गरेको आरोप लगाएका छन् । इरानले पनि अतिवादी समूहलाई सहयोग गरेको हुन सक्ने आंशका ती राष्ट्रको छ । इरान र साउदीबीच पनि द्वन्द्व रहिआएको छ । कतारले सिरियाको अतिवादी समूहलाई पनि आर्थिक तथा हातहतियारलगायत सहयोग गरेको विश्वास गरिँदै आएको छ । अतिवादी मुस्लिम नेतालाई आर्थिक सहयोग गरेको आरोप कतारले भने अस्वीकार गर्दै आएको छ ।
दुई सातापहिले मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रियादमा मुस्लिम राष्ट्रले अतिवादीविरुद्ध लड्न नेतृत्वकारी भूमिका खेल्नुपर्ने बताएका थिए । उनले मध्यपूर्वमा अस्थिरता ल्याएको भन्दै इरानको आलोचना गरेका थिए । तर, केही पश्चिमा देशले भने साउदी अरबले पनि अतिवादी समूहलाई सहयोग गरेको आरोप लगाएका छन् । बेलायती प्रधानमन्त्री थेरेसा मेले पनि लन्डन आक्रमणका लागि बेलायती अतिवादी समूहलाई साउदीले सहयोग गरेको हुन सक्ने बताएकी छन् । नयाँ पत्रिकामा खबर छ ।