एकवर्षलाई १३ महिनामा रुपान्तरण गरि सदस्यहरुबाट चर्कोव्याज असुल्दै
ङेम्लिङ लामा/चाैतारा
गरिबी न्यूनिकरणका लागि भन्दै सिन्धुपाल्चोकको ग्रामीण वस्तीहरुमा च्याउझंै देखा परेको लघुवित्त कार्यक्रमहरुले ग्रामीणवस्तीका विपन्न परिवारहरुमा व्यापक शोषण गर्दै आइरहेका छन ।
सिन्धुपाल्चोक जिल्लाको ग्रामीण वस्तीहरुमा क्लीन भिलेज, मानुषी, स्वावलम्बन विकास केन्द्र, रिलायवल, छिमेकी, आई.सी.एफ.सी. जस्ता लघुवित्त कार्यक्रमहरुले विशेष गरि ग्रामीण महिलाहरुलाई ३० देखि ३६ प्रतिशतसम्म व्याज असुल्दै शोषण गरिरहेका छन् । संस्थाले भन्ने बेलामा १५ प्रतिशत व्याजदर तर असुली गर्ने क्रममा ३६ प्रतिशतसम्म असुल्ने गरेको बताइएको छ ।
वित्तीय संस्थाहरुले ग्रामीण क्षेत्रको गरिबी न्यूनिकरणको नाममा बैंकहरुबाट सस्तो व्याजदर(६प्रतिशत)मा ऋण लिई चर्को व्याजदरमा ऋण लगाउँदै गरिबहरुको ढाड सेकाउँदै आइरहेका छन् । नेपाल राष्ट्र बैकबाट घ वर्गको इजाजत पत्र लिइ यस्तो धन्दामा वित्तीय संस्थाहरु विगत लामो समयदेखि संलग्न हुँदै आएका छन् ।
वित्तीय संस्थाहरुले समूहका सदस्यहरुलाई अनेक किसिमका प्रलोभन दिई समूह बचत, संस्थाकै भविश्य वचत, व्यक्तिगत वचत गर्न लगाउछन् । सदस्यहरुबाट संकलित वचतको व्याजदर एकदम न्यून हुने गरेको बताइएको छ । यसैगरि १५बर्षे पेन्सन वचत गर्न लगाई सदस्यहरुलाई संस्थाबाट उम्किन नसक्ने गरि नत्थी लगाउने रणनीति समेत लिने गरेको बताईएको छ । १५ वर्षको अवधिमा बल्ल दोब्बर पैसा दिने र त्यहि पैसासमेत महंगो ब्याजदरमा समूहका सदस्यहरुलाई नै ऋण प्रवाह गरि विपन्न र पिछडिएका क्षेत्रको उत्थान र विकासको नाममा उनीहरुमाथि नै शोषण गरिरहेको यस क्षेत्रका जानकारहरु बताउँछन् ।
लघुवित्त संस्थाहरुले प्रत्येक २८ दिनको एकमहिना बनाएर ३६५ दिनको एकवर्षलाई १३ महिनामा रुपान्तरण गरि सदस्यहरुबाट चर्कोव्याज असुल्ने गरेका छन् । देखाउनका लागि १५ प्रतिशत व्याजदर भन्दै वर्षको १३ पटक व्याज, सेवाशुल्क, बचत संकलनतर्फको न्यून व्याज समेतलाई मिलाउँदा सदस्यऋणीहरुबाट ३० देखि ३६ प्रतिशतसम्म ब्याज असुल्दै आइरहेको यस क्षेत्रका जानकारहरु बताउँछन् । संस्थाले प्रत्येक २८ दिनमा मिटिङ्गमा बोलाई जिल्लाका ग्रामीण क्षेत्रका महिलाहरुलाई अल्मलाइरहेको समेत बताइएका छन् ।
एकवर्षलाई १३ महिना बनाउने अधिकार यी संस्थाहरुलाई कसले दियो ? १२ महिना कायम गराई ऋण लगानी र असुली गर्दा खुद्रा पैसा मिलाउन गाह्रो भएको बहानामा सदस्यहरुबाट मोटो रकम असुल्न कसले सिकायो ? यकहाँबाट लियो यस्ता अनुमति ? खोजीनीतिको विषय भएको छ ।
मानुषी नामक संस्थाले सिन्धुपाल्चोकको चौतारा, मेलम्ची, बाह्रविसे, नवलपुर, सिलढुंगा, काउलेदोभान, ज्यामिरे र तिपेनी समेत आाठवटा शाखाबाट १२ हजारजना महिलाहरुलाई विभिन्न समूहमा आवद्ध गराएका छन् । यसपाला संस्थाका सदस्यहरुबाट कार्यालयलाई सहयोग भन्दै प्रतिसदस्य २ सय रुपियाँका दरले सिन्धुपाल्चोकमा मात्रै २४ लाख रुपियाँ उठाएको संस्थाका समाचार स्रोतले पाँचपोखरी साप्ताहिकलाई बताइएका छन् ।
यस्तै वित्तिय संस्थामध्येका स्वावलम्बन विकास केन्द्रबाट चौतारा साँगाचोकगढी नगरपालिका–५ का रेष्मा लामाले ऋण ंिलई फरार भएको र सो संस्थाले यतिखेर सोही समूहमा आवद्ध सदस्यहरुबाट जनही मासिक एकहजार रुपियाँका दरले ऋण असुल्दै आइरहेको सदस्य निर्मला थापाले बताएकी छन् । सामूहिक जमानीमा ऋणलिँदा यस्तो समस्या देखिएपछि आफूले लिएको ऋण तिरेर संस्थाबाट मुक्तहुन खोज्दा पनि संस्थाले नमानेर झनै समस्यामा परेको आवद्ध महिलाहरुले बताएका छन् ।
गरिबी न्यूनिकरणको नाममा बैंकबाट सस्तो व्याजदरमा ऋणलिई सर्वसाधारण महिलालाई ऋण प्रवाहको बहानामा ढाड सेक्नेगरि चर्कोव्याज असुल्ने वित्तीयसंस्थाहरुको सन्दर्भमा प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालले यस्ता संस्थाहरुको आधिकारिता लगायतका विविध पक्षमा स्थानीय प्रशासनले अनुन्सधान गरिने वचन दिए ।
पाँचपोखरी साप्ताहिकबाट