२६ आश्विन २०८१, शनिबार | Sun Oct 13 2024

ओबामा, जसले दुई कार्यकालभर लगाए एउटै कोट


५ असार २०७४, सोमबार  

0
Shares

बाराक ओबामा दुई कार्यकाल गरी आठ वर्ष अमेरिकाको राष्ट्रपति पदमा रहे । यो अवधिमा विश्वभर उनको चर्चा रह्यो । उनका हरेक स्टाइल समाचारका हेडलाइन बने । उनको ड्रेसअप स्टाइल पनि मिडियामा अटाए । दुई कार्यकाल पूरा गरेर ह्वाइटहाउस छाड्दै गर्दा पनि बाराकले ड्रेसबारे भनेका थिए– म मेरो ‘मम जिन्स’ आनन्दसँग लगाउन सक्छु, टाइट जिन्स मन पर्दैन । ह्वाइटहाउसबाट बाहिरिएको लामो समयपछि मिसेल ओबामाले बाराकको ‘ड्रेसअप सेन्स’बारे रोचक खुलासा गरेकी छिन्ः

बाराक ओबामाले ह्वाइट हाउस छाडेपछि राष्ट्रपतिको जिम्मेवारी सम्हालेर डोनाल्ड ट्रम्प भित्रिएको ६ महिना भइसकेको छ । चुनावी प्रचारका क्रममा मात्रै होइन, ह्वाइट हाउस छिरिसकेपछि पनि ट्रम्प विवादकै घेरामा परिरहेका छन् । तर, ओबामाको चर्चा पनि सेलाएको छैन । ओबामा रोचक पक्षका कारण विगतदेखि चर्चामा आइरहन्छन् । श्रीमती मिसेल ओबामाको स्पष्ट र रमाइलो स्वभावका कारण पनि ओबामाको व्यक्तिगत जीवन विवादमा तानिएन । मिसेलले नै फेरि एकपटक ओबामाको ड्रेसअप सेन्सबारे रोचक पक्ष खुलाएकी छिन् । ओबामाको ड्रेसअप मन पराउनेलाई मिसेलको अभिव्यक्तिले चकित तुल्याइदिन सक्छ ।

अमेरिकाकै ३५औँ राष्ट्रपति जोन एफ केनेडीपछि कुनै पनि औपचारिक या अनौपचारिक कार्यक्रममा सबैभन्दा सही तरिकाले पोसाक पहिरिने राष्ट्रपति भनेर ओबामाको चर्चा हुँदै आएको छ । ओबामा न त विदेशी पोसाक लगाउँछन्, न त सोचेभन्दा महँगा नै । तर, पनि लगाउने तरिकाकै कारण प्रशंसकहरू ओबामाको ड्रेसअपबाट प्रभावित हुन्छन् ।

मिसेलका अनुसार ओबामाले आफ्नो दुई कार्यकालको आठ वर्षको अवधिभर टक्सोडो कालो ज्याकेट नै लगाए । ‘औपचारिक उत्सवहरूमा उनी प्रायः कालो कोटमै उपस्थित हुन आरामदायी महसुस गर्छन् । विन्डब्रेकर र जिन्समा पनि उत्तिकै रुचि राख्छन् । राष्ट्रपतिको दुई कार्यकालभर एउटै टक्सोडो कालो ज्याकेट मात्रै होइन, जुत्ता पनि उही लगाए,’ मिसेलले रोचक खुलासा गरिन् । उनी एप्पल कम्पनीको विश्वभरका ‘डेभलपर’को सम्मेलनमा ओबामाको पहिरनबारे बोल्दै थिइन् ।

२००८ को एक अभियान तथा मेजर लिड बेसबल (एमएलबी)ले आयोजना गरेको खेलमा ओबामा ‘लुज फिटिङ स्टोनवास ८०’ स्टाइलको जिन्स प्यान्ट्समा उपस्थित हुँदा पनि निकै चर्चा भएको थियो । उनको ड्रेसअपमा सिकागोकै नजर तानिएको थियो । त्यतिखेर सिकागोवासीको कपडा लगाउने तरिकामै बदलाव आएको बताइन्छ ।
‘ओबामाले लवाइ र खुवाइमा भन्दा उनको अधिक समय देश र देशवासीका नाममा खर्च गरेका थिए । उनलाई कालो टक्सोडो ज्याकेट निकै मन पर्ने भएकै कारण आठ वर्षसम्म निरन्तर पहिरिए,’ मिसेल बोल्दै जाँदा असन्तुष्टि पनि पोखियो, ‘अहिले मान्छेहरू मैले लगाएको जुत्ता, ब्रासलेट र नेकलेसको चर्चा गर्छन्, तर तिनीहरुले आठ वर्षसम्म बाराकले लगाएको एउटै ज्याकेट र जुत्ताको विषयमा कहिल्यै कमेन्ट गरेनन् ।’

मिसेलले ओबामालाई राष्ट्रपतीय कालमा बदल्ने प्रयास पनि गरेकी रहिछन्, खासगरी लवाइ र खुवाइमा । तर, बाराकलाई कसिलो जिन्स कहिल्यै मन परेन । उनले खुला जिन्समै मन लगाएपछि मिसेलको कुनै पिताम चलेन । ‘यो बीचमा बाराकलाई बदल्ने प्रयास गरेँ । तर, उनलाई उही पुरानो खालको जिन्समै सहज महसुस भयो । आफ्नो यही स्टाइलमा गर्व गर्थे,’ मिसेलले नछिपाई भनिन्, ‘बरु बाराकले उल्टै मलाई प्रश्न गर्थे । मम, म तयार भएँ, म १० मिनेटमै तयार भएँ, तर तिमीलाई कति धेरै समय लागेको ? भनेर अत्याउँथे ।’

प्रकाशित मिति : ५ असार २०७४, सोमबार  ४ : १७ बजे