३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

दोस्रो चरण निर्वाचनः कांग्रेसको भन्छ-१७० स्थानमा जित सुनिश्चित, दुइ तिहाइ ल्याउने एमालेको दाबी


८ असार २०७४, बिहिबार  

0
Shares

काठमाडौं । असार १४ का लागि तोकिएको दोस्रो चरणको स्थानीय तह निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न दलहरु जोडतोडका साथ लागेका छन् । निर्वाचन नजिकिँदै गर्दा दलहरुले जितको दाबी पेश गरिरहेका छन् ।

दोस्रो चरणको निर्वाचनमा कम्तीमा १७० स्थान जितेर पहिलो पार्टी बन्ने प्रारम्भिक आँकलन कांग्रेसको छ । केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल नेतृत्वको टोलीले तीनवटै प्रदेशमा खटिएका नेताहरूसँग बुझेर आँकडा तयार पार्दै छ । नेता विमलेन्द्र निधिले ५८ प्रतिशत भन्दा बढी तहमा जित्ने दाबी गरे ।

पहिलो चरणको निर्वाचन परिणामबाट उत्साहित देखिएको एमालेले दोस्रो चरणको निर्वाचनमा बहुमत सिट जित्ने दाबी गरेको छ । प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ तहमध्ये २ सयदेखि २ सय १० सिटसम्म जित्ने उसको दाबी छ । प्रदेश नम्बर १ का १३७ तहमध्ये विराटनगर महानगरपालिकासहित दुईतिहाइ तहमा जित्ने एमालेको दाबी छ । त्यस्तै, प्रदेश नम्बर ५ का १०९ तहमध्ये ६५ देखि ७० मा र प्रदेश नं. ७ का ८८ तहमध्ये कम्तीमा ६० प्रतिशत स्थानीय तह जित्ने एमालेको आँकलन छ ।

माओवादी केन्द्रले दोस्रो चरणको निर्वाचनमा झन्डै १ सय २० स्थानमा जित्ने दाबी गरेको छ । प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ तहमध्ये एकतिहाइमा जित्ने आँकलन माओवादीको छ ।

तीनवटै प्रदेशका इन्चार्जले गरेको दाबीअनुसार प्रदेश नं. १ का १३७ मध्ये ५० देखि ५५ तहमा, ५ का १०९ मध्ये ४६ तहमा र ७ का ८८ मध्ये २५ देखि ३० तहमा पार्टीले जित्नेछ । पहिलो चरणको निर्वाचनको समीक्षासहित विशेष अभियानमा चलाइएकाले पार्टीका पक्षमा राम्रो परिणाम आउने उसको विश्वास छ । नयाँ पत्रिकामा खबर छ ।

प्रकाशित मिति : ८ असार २०७४, बिहिबार  ७ : २६ बजे