७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

‘१८ वर्षमै मर्न लेखेको रहेनछ, बाँचेँ’


१० असार २०७४, शनिबार  

0
Shares

मुग्लिन–नारायणगढ सडकको चार किलोमा शुक्रबार बिहान ठूलो पहिरो जानुअघि अलिअलि ढुंगा झरिरहेको थियो । मुग्लिनबाट हेटौँडा जान भन्दै मनहरीका रामकुमार लामा ना.५ख ७८२७ नम्बरको ट्रक चलाएर ढुंगा खसिरहेको ठाउँनजिक आइपुगे । गाडीमा मनहरीकै १८ वर्षीय सहचालक सानु ब्लोन थिए । माथिबाट ढुंगा झरेको देखेपछि अगाडि रहेको बस कुनापट्टिको साइड छाडेर छेउको लेनमा रोक्यो । उनी पनि बसैको पछाडि गएर गाडी रोकेर बसे ।

बस रोकिएपछि यात्रुहरू हतारहतार झरेर अघि बढे । केही पर पसल भएको ठाउँमा गई चाउचाउ–बिस्कुट किन्न थाले । रामकुमार गाडीको झ्याल लगाएर ट्रक छेउमै रोकेर हिँड्दै बसका यात्रुहरू भएतर्फ अघि बढे । सहचालकको पछाडिको सिटमा गई सुते ।

केही पर पुगेपछि पुलिसको भ्यान आयो । अगाडिको बाटो सफा गरेर बाटो खुलाई आएको भ्यान पहिरोनजिक पुग्यो । एकैछिनमा यात्रुहरू प्रहरीको भ्यान पहिरोले लग्यो भन्दै चिच्याउन थाले । त्यतिखेरसम्म रामकुमार आफ्नो ट्रक सुरक्षित होला भन्नेमा थिए । रातको समयमा नदी किनारनजिक ब्याक गिएर लाइट बलेको देखे । मानिसहरू प्रहरीको भ्यानको खोजीमा लागिरहे ।

उनी आफ्नो गाडी रोकेको ठाउँमा आए । छक्क परे । आफ्नो गाडी नै छैन । पछि मात्र थाहा भयो, नदी किनारमा बत्ती बलिरहेको गाडी उनैले रोकेर गएको गाडी रहेछ । गाडीमा सुतिरहेका सानु ब्लोनको खोजीमा उनी लागे । प्रहरी खोज्दै हिँडेकालाई सानुले चिच्याउँदै गुहार मागे । दुई घन्टापछि उनको ट्रकबाट उद्धार भयो ।

‘ट्रकमा ठूलो ढुंगा आएर लागेको थाहा पाएँ, त्यसपछि के भयो थाहा छैन,’ सहचालक लामाले भने, ‘ट्रक किनारमा पुगेको केही छिनपछि बल्ल होस आएछ,’ उपचारका क्रममा भेटिएका सानुले भने, ‘१८ वर्षमै मर्न लेखेको रहेनछ, बाँचेँ ।’ ट्रकलाई सडकबाट १५० मिटर तलसम्म पहिरोले लतारेको थियो । घाइते सहचालकको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । उनको घुँडामुनि, खुट्टाको औँला र निधारमा चोट लागेको छ । नयाँ पत्रिकामा खबर छ ।

प्रकाशित मिति : १० असार २०७४, शनिबार  ७ : २७ बजे