१६ फाल्गुन २०८०, बुधबार | Wed Feb 28 2024

भरतपुरमा च्यातिएको मतपत्र सर्वोच्चमा पेश


१३ असार २०७४, मंगलबार  

0
Shares

काठमाडाैं । भरतपुर महानगरपालिका वडा १९ मा च्यातिएका मतपत्र  मंगलबार सर्वोच्चमा पेश भएका छन् ।

मतगणना विवादबारे सर्वोच्च अदालतले मागेका कागजपत्र र च्यातिएका ९० वटा मतपत्र जिल्ला निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासन कार्यालयले काठमाडौं पठाएका हुन्।

भरतपुरको कभर्डहलमा कपडाले पोको पारेर राखिएका मतपत्रलाई मतपेटिकामा राखेर सिल गरी पठाइएको हो। मुख्य निर्वाचन अधिकृत कविलप्रसाद न्यौपाने, सहायक मतदान अधिकृत गम्भीर घिमिरे र प्रहरी नायब निरीक्षक गोविन्द श्रेष्ठ मतपत्र लिएर काठमाडौं अाइपुगेका छन् ।

 

सर्वोच्च अदालतले भरतपुर महानगरपालिकामा च्यातिएका मतपत्र एक साताभित्र झिकाउन असार ६ गते मङ्गलबार आदेश दिएको थियो।

कायममुकायम प्रधानन्याधीश गोपालप्रसाद पराजुली र न्यायधीश हरिकृष्ण कार्कीको संयुक्त इजलासले मतपत्र झिकाउन आदेश दिएको हो।

फैसलाको भोलिपल्ट मात्रै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पत्र आएकाले पत्र पाएको सातौँ दिन आज कागजपत्र र मतपत्र पठाइएको हो।

भरतपुर महानगरपालिका–९ को मतगणना जारी रहेको बेला दलका कार्यकर्ताले मतपत्र च्यातेपछि यो विवाद सर्वोच्चमा पुगेको हो। महानगरका २९ वटामध्ये २७ वटाको गणना सम्पन्न भएको छ भने १९ को अन्योलमा रहेको छ । वडा नं २० को मतगणना बाँकी रहेको छ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले पुनः मतदान गर्नुपर्ने माग गर्दै आएका छन् भने नेकपा एमालेले मतगणना जारी राख्नुपर्ने माग गर्दै सर्वोच्च पुगेको हो।

निर्वाचन आयोगले वडा नं १९ मा पुनः मतदान गर्न निर्देशन गरेपछि सो मुद्दा सर्वोच्च गएको हो।

प्रकाशित मिति : १३ असार २०७४, मंगलबार  १० : ५४ बजे