२६ मंसिर २०८१, बुधबार | Wed Dec 11 2024

सोलुखुम्बुको अाठ तहमा कसले कहाँ जिते ? हेर्नुस परिणाम


१८ असार २०७४, आइतबार  

0
Shares

काठमाडौं । स्थानीय तह अन्तर्गत दोस्रो चरणमा असार १४ गते भएको निर्वाचनमा प्रदेश नम्बर १ मा रहेको सोलुखुम्बुको सम्पूर्ण तहको परिणाम सार्वजनिक भएको छ । आठ तह रहेको जिल्लामा एक नगरपालिका र ७ गाउँपालिका रहेको छ । यी तहमा कसले कहाँ जिते ? हेर्नुस परिणामः

१ सोलु दुधकुण्ड नगरापलिका

सोलुखुम्बुको एक मात्र नगरपालिका सोलुदुधकुण्ड नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका उमेदवार नाम्गेल जाङ्बु शेर्पा २,७५१ मतका साथ विजयी भएका छन् । उपप्रमुखमा भने नेकपा एमालेकी कल्पना राईले २,७६० मत ल्याएर जितिन् । प्रमुखका प्रतिद्वन्दी एमालेका आङ इगेले झलक शेर्पाले २, १९० मत ल्याए भने उपप्रमखमा कांग्रेसकी छिण्डील्हमु शेर्पाले २,७१७ मत ल्याइन् । वडाहरुमा भने नेकपा एमालेले बहुमता जित हात पारेको छ । एमालेले वडा नम्बर ३, ५, ६, ७, ८ र १० जित्दा कांग्रेसले १, २, ४ र ९ नम्बर वडा जितेको छ ।

२. नेचासल्यान गाउँपालिका

नेचासल्यान गाउँपालिकामा एमालेका प्रमुख डुफकुमार वास्तोला १,६९८ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका धनराज राईले १,६५६ मत ल्याए । उपप्रमुख कांग्रेसकी कुमारी शर्मा २,००२ मत ल्याएर बाजी मारिन् । एमालेकी अमृता राई १,५८१ मतमा चित्त बुझाइन् ।

१ र २ वडामा कांग्रेसको प्यानल विजयी भएको छ भने ३,४ र ५ मा एमालेको प्यानलनै विजयी भएको छ । वडा ६ मा शुन्य मत खसेको थियो ।

३. खुम्बु पासाङल्हामु गाउँपालिका 

खुम्बु पासाङल्हमु गाउँपालिकाको मतदान भएको सबै सिटहरुमा नेकपा एमालेले क्लिन स्वीप गरेको छ । प्रमुख उपप्रमुख सहित मतदान भएका पाँचै वडामा एमालेले जित निकाल्दै सगरमाथामा एमाले झण्डा फहराएको हो । खुम्बु पासाङल्हमु गाउँपालिकामा जित हात पार्न एमालेका नेता निमदोर्जी शेर्पाले १,४२४ मत ल्याए भने उपप्रमुखमा एमालेकै टासील्हमु शेर्पाले १,४२१ मत ल्याएर जित हात पारिन् । कांग्रेस प्रमुखका उमेदवार चुङबा शेर्पाले १,४०२ मत ल्याएका थिए भने उपप्रमुखमा नाङाल्हमु शेर्पाले ८,४६ ले ल्याएकी छन् । गाउँपालिकाको एउटा वडाको दलित महिला सदस्यमा भने कांग्रेसको मात्रै उम्मेदवारी परेपछि निर्विरोध विजेता घोषणा गरिएको थियो ।

 

४. लिखुपिके गाउँपालिका

लिखुपिके गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका डम्बरबहादुर बस्नेतले एक हजार १३६ मत ल्याई विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामबहादुर बस्नेतले ७६० प्राप्त गरे । उपप्रमुखमा माओवादी केन्द्रकै प्रमिला बस्नेतले एक हजार ४२ मत प्राप्त गरी विजयी भइन् । निकटतम प्रतिद्वन्द्वी काँग्रेस उम्मेदवारले ८२८ प्राप्त गरे भने पाँचवटा वडा रहेको सो गाउँपालिका काँग्रेस र माओवादी केन्द्रले दुई÷दुई तथा एमालेले एउटा वडामा जित हासिल गरेको छ ।

५. सोताङ गाउँपालिका
सोलुखुम्बुको सोताङ गाउँपालिकामा एमाले विजयी भएको छ । एमालेका वीरबहादुर राई १ हजार ३ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दीपक खड्काले ८ सय ७१ मत ल्याए । राईले १ सय ३० मत अन्तरले खड्कालाई पराजित गरेका हुन् । यस्तै उपाध्यक्षमा एमालेकी लक्ष्मी बस्नेत भइन् । उनले १ हजार ६ सय ७३ मत ल्याइन् ।

६. महाकुलुङ गाउँपालिका
महाकुलुङ गाउँपालिकामा नेकपा माओवादी केन्द्रले जित हात पारेको छ । केन्द्रका उम्मेदवार सागर किराती प्रमुखमा निर्वाचित भएका छन् । उनले १,४०२ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्दी कांग्रेसका भलाकाजी कुलुङले १३८३ मत प्राप्त गरे । उपप्रमुखमा कांग्रेसकी विपना कुलुङले जित हात पारिन् ।
वडा १ र ४ मा माओवादी, २ र ३ मा एमाले र ५ मा कांग्रेसले जित हात पारेको छ ।

७. दुधकोशी गाउँपालिका

दुधकोशी गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । प्रमुखमा बुद्धिकिरण राई र उपप्रमुखमा जुनिता मगर एमालेवाट विजयी भए । गाउपालिका प्रमुख पदका उम्मेदवार राईले २,१९१ मत र उपप्रमुख पदकी मगरले २,२६२ मत ल्याएर गाउपालिकामा बिजयी भए । प्रमुखमा प्रतिद्वन्दी काग्रेसका भोजराज कार्कीले १,५९९ र उपप्रमुख पदकी उम्मेदवार उम्रिता राईले १,६०८ मत ल्याए ।

यहाँको ७ वडा मध्ये एक वडामा माओवादी केन्द्र, चार वडामा नेकपा एमाले र दुई वडामा नेपाली कांग्रेसले जित हात पारेको छ ।

८. दुधकौशिका गाउँपालिका

सोलुखुम्बुको दुधकौशिकामा अध्यक्षमा माओवादी केन्द्रका असिम राई २,५१४ मतका साथ विजयी भएका छन् । उनका प्रतिद्वन्दी कांग्रेसका हुतराज बस्नेतले २,३०४ मत ल्याए । यता उपाध्यक्षमा भने कांग्रेसकी सविता राई विजयी भएकी छन् ।

प्रकाशित मिति : १८ असार २०७४, आइतबार  ४ : ३१ बजे