न्युयोर्क । कर्मापा सेवा समाज अमेरिकाले १७ अाैं ग्लाल्वाङ कर्मापा उर्गेन ठिन्ले रिम्पोचेको ३२ औं जन्मोत्सव भव्यताका साथ मनाएको छ । खचाखच भरिएको हलमा राखिएको कर्मापा रिम्पोचेको ठुलो तस्विरसामु माण्डल कुसुम र अन्य महत्वपूर्ण सामग्री चढाएर जन्मदिन मनाएका थिए ।
न्युयोर्कको क्विन्समा आयोजित कार्यक्रममा उपस्थित बौद्धधर्म गुरुहरुले धार्मिक मन्त्र पाठका साथ रिम्पोचेको जन्मदिनको शुभकामना दिएका थिए । त्यस्तै कार्यक्रममा उपस्थित दलाई लामाका प्रतिनिधि टसिछिरिङ, धर्मशालास्थित काग्युको प्रतिनिधि कुङगा सोतुप, खेन्पो सांगेलगायत भुटानिज् एसोसियसनका प्रतिनिधिले पनि शुभकामना मन्तव्य दिएका थिए । उक्त अवसरमा न्युयोर्क न्युजर्सी तिब्बतीय कम्युनिटी, मुस्ताङ किदुग, ङआरी किदुग, नाङछेन ङेरङग, देर्गा किदुग, ह्योल्मो सोसाइटी अफ अमेरिका, मिमाङ ल्हाखार, मनाङ आमा समूहले नृत्य प्रस्तुत गरेका थिए ।
त्यस्तै ह्योल्मो आमा समूहले कार्यक्रमको अन्तमा मर्मे मोन्लम प्रस्तुत गरेका थिए । न्युयोर्कमा रहेका विभिन्न समुदायका प्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रममा कर्मापा सेवा समाजका अध्यक्ष ठिन्ले छोम्पेलले विगत ६ वर्षदेखि रिम्पोचेको जन्मदिनमा सहयोग गर्नेहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।