काठमाडौं । अब विगतमा एक वा सोभन्दा बढी क्षेत्रमा एकैपटक एक व्यक्तिले उम्मेदवार हुन पाउने व्यवस्था भएकोमा ‘प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७४’ ले त्यस्तो प्रावधान हटाएको छ ।
व्यवस्थापिका–संसद्मा विचाराधीन सो विधेयकको दफा १४ मा ‘दोहोरो हुन नपाउने’ व्यवस्था गरेको हो । सो दफामा भनिएको छ, ‘पहिलो निर्वाचित हुने प्रणालीअनुसार हुने निर्वाचनमा एक व्यक्तिले एक पटकमा कुनै एक निर्वाचन क्षेत्रका लागि मात्र उम्मेदवारी दिन सक्नेछ ।’ एक भन्दा बढी क्षेत्रमा उम्मेदवारी दिने व्यक्तिको उम्मेदवारी निर्वाचन आयोगले रद्द गर्नेछ ।
विभिन्न पार्टीका शीर्षनेताले एक क्षेत्रबाट पराजित भएमा अर्काे क्षेत्रबाट भए पनि विजयी हुन सक्ने ठानेर विगतमा दोहोरो उम्मेदवारी दिन पाउने व्यवस्था थियो तर एक व्यक्ति दुवै क्षेत्रमा विजयी भएमा एक क्षेत्रबाट राजीनामा गराई निर्वाचन आयोगलाई अर्काे निर्वाचन गराउनुपर्ने झन्झट थियो ।
यस्तै, प्रत्यक्ष प्रणालीतर्फका उम्मेदवारले समानुपातिक प्रणालीतर्फको बन्द सूचीमा समावेश हुन पाउने छैन । समानुपातिकतर्फ एक उम्मेदवार एकभन्दा अन्य दलका तर्फबाट बन्दसूचीमा समावेश हुन पाउने छैन ।