१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

डालसमा नेपाली संस्कृति जोगाउँदै एनएसटी


१८ श्रावण २०७४, बुधबार  

0
Shares

आङछिरिङ शेर्पा/न्युयोर्क

अमेरिकामा नेपालीको बाक्लो बस्ती भएको राज्य न्युयोर्कपछि डालस हो । ३५ हजारभन्दा बढी नेपाली बसोबास गर्दै आइरहेको टेक्सासको डालस अब मिनी नेपालको रुपमा चिनिन थालेको छ । यो राज्यमा बस्ने नेपालीको प्रतिनिधित्वमुलक संस्था नेपालिज सोसाइटी टेक्सास (एनएसटी)ले विभिन्न कार्य गर्नका साथै पछिल्लो समय नेपाली भाषा, संस्कृति र संस्कार सिकाउने पाठशाला खोलेर उदाहरणीय संस्थाको रुपमा परिचित हुदैछ । सात समुद्रपारी डेढ दशकअघि थोरै संख्यामा विद्यार्थी सिकाउदै आएको एनएसटीको यही पाठशाला अहिले दुई सयभन्दा बढी नेपाली बालबालिकालाई आध्यात्म, संस्कृति, नेपाली संस्कार र नैतिकताबारे शिक्षा दिने राम्रो थलोको रुपमा परिणत भएको छ । केही वर्ष चर्चमा र घर भाडामा लिएर सञ्चालन गर्दै आएको पाठशाला अब नेपालीकै सहयोगमा बनेको बौद्ध पशुपतिनाथको पवित्र मन्दिरमा खडा भएको छ ।

‘अबको पुस्ताले नेपाली भाषा, धर्म र संस्कृतिबारे सिकेर अरुलाई पनि सिकाउन सकोस भन्ने उद्देश्य अनुरुप पाठशाला खोलेको हो,’ नेपालिज सोसाइटी टेक्सास (एनएसटी)का अध्यक्ष कृष्ण लामिछानेले भने, ‘ सहयोगीहरुद्वारा सञ्चालन भइरहेको यो पाठशालाले प्रवासमा नेपालको चिनारी दिने राम्रो थलो बनेको छ ।’ सन् १९९८ मा स्थापना भएको एनएसटीले आफनो  जन्मसँगै बालबालिकालाई नेपाली भाषा र संस्कार सिकाउदै आएका छन् । सन २००५ बाट व्यवसायिक रुप लिएको विद्यालयले महिनाको हरेक हप्ताको आइतबार एक दिन नेपाली भाषा र संस्कारबारे शिक्षा दिदै आएको छ भने विद्यालय छुट्टिको बेला समर क्याम्प गराउदै आएको अध्यक्ष लामिछानेले बताए ।

बिदामा विशेष गरी घरमा फोन, आइप्याड र कम्प्युटरमा रमाउने बालबालिकालाई क्याम्पमा धार्मिक गुरुबाट नेपाल र नेपालीबारे सिक्न पाउदा सहाभागी बालबालिका र अभिभावक खुसी भएको उनको अनुभव रहेको छ । एनएसटीले सन् २००७ मा पहिलोपटक हिन्दु बिद्यापीठ नेपालको संस्थापक डाक्टर चिन्तामणी योगीलाई बोलाएर समर क्याम्प सुरुवात गरेका थिए । धार्मिक गुरु योगीले पाँच वर्ष भिसा हुन्जेलसम्म नियमित रुपमा समर क्याम्पमा उपस्थित भएर ज्ञान दिए । तर उनको भिसा सकेपछि डा योगीको अमेरिका भ्रमण रोकिएको थियो । गत वर्ष डा ललित शंकर योगीबाट दिएपछि ५ वर्षपछि पुन यसपटकदेखि एनएसटिले धार्मिक गुरु योगिबाट क्याम्पलाई निरन्तरता दिने कार्य भएको छ ।

यसपटकको समर क्याप्पको महत्वपूर्ण पक्ष भनेको दस वर्षअघि धार्मिक गुरुबाट शिक्षा पाएका दुई विद्यार्थीनै क्याम्पको लिडर बनेका छन् । सानै उमेरमा गुरुबाट शिक्षा लिइ यसपटकको क्याम्पको लिडर हुनेमा १७ वर्षीया कृतिमा लामिछाने र २२ बर्षीया आइसा ओझा रहेका छन् । उनीहरुले अभिभावकहरुको चाहना मात्र पुरा गरेनन आफु अमेरिकामै जन्मेका युवाहरुलाई नेपाली भाषा र संस्कृति सिक्न उदाहरणीय पात्र बन्न सफल भएका छिन् । यसपटकको समर क्याम्पमा २ सय ६५ जना बालबालिका सहाभागी भएका थिए । उनीहरुको लागि समाजले बिहानदेखि बेलुकीसम्म खाना, किताव, कापीकलम र टिसर्ट उपलब्ध गरिदिएका थिए । अंग्रेजी र नेपाली दुबै भाषाको माध्यमबाट सिकाएका क्याम्पमा सहाभागी हुने बालबालिकाले नेपाली भाषा, संस्कार, आध्यात्म र योगा सिकेका थिए । क्याम्पमा सहाभागी हुनेलाई १ सय डलर दर्ता शुल्क लिएको अध्यक्ष लामिछानेले बताए । चन्दादाताहरुको आर्थिक सहयोगमा भएको क्याम्पमा सहाभागीलाई लिएको त्यो शुल्क न्युनतम रकम रहेको उनको धारणा रहेको छ । क्याम्पमा विभिन्न समूह बनाएर सिकाएका थिए । ती समूहमा उत्कृष्ट हुनेलाई गुरुले ट्रफी र प्रमाणपत्र दिएका थिए । टेक्सासको नेपाली समाजमा पाठशालाले महत्वपूर्ण उपलब्धि हासिल गर्न थालेपछि यतिखेर पाठशालामा अध्ययन गर्न आउनेहरुको संख्या बढ्दै गएको छ । अहिले एक सेमिस्टरमा १ सय ७२ जना विद्यार्थीले अध्ययन गरिरहेका छन् । स्कुलको संयोजकमा संस्थाको महासचिव तथा विद्यालयको प्रिन्सिपलको रुपमा कमल सत्यालले गरेका छन भने म्यानेजरको रुपमा सुजन श्रेष्ठले शनिबार आएर सबै व्यवस्थापन गरिदिने कार्य गदै आएका छन् ।

अध्यक्ष लामिछानेले यस्तो कार्य एनआरएनले गरोस भन्ने चाहना अनुरुप उनले एनआरएनका केन्द्रीय नेताहरुसँग पनि आग्रह गरिसकेको बताउछन् । प्रवासमा जन्मेको नेपाली बालबालिकालाई नेपाली भाषा र संस्कार सिकाउन अमेरिकाव्यापी रुपमा नेपाली पाठशाला खोल्नुपर्छ भन्ने अभियानका साथ यसपटकको निर्वाचनमा बोर्ड अफ डाइरेक्टरमा पदमा उमेदवारी दिएको अध्यक्ष लामीछानेले बताए । ‘यही जन्मेको अबको पुस्तालाई नेपाल केहो नेपाली केहो र हाम्रो भाषा, धर्म र संस्कृति के हो भनेर सिकाउन सकेनौ भने बिर्सदै जाने भएकोले सवैले यसमा लाग्न आवश्याक भइसकेको छ,’ अध्यक्ष लामिछानेले बताए । विगतदेखि यो अभियानमा लाग्दै आएका अध्यक्ष कृष्ण लामिछाने सक्रिय पात्र भएपनि यो अभियानमा जुट्नेहरुमा एनएसटीका पूर्व पदाधिकारीहरु र मन्दिरका अग्रजहरु रहेका छन् । पाठशालालाई सहयोग गर्नेमा बैकुण्ठ थापा, गौरी जोशी, सुन्दर कर्माचार्य, रामसी पोखरेल, भुवन आचार्य, विजय भट्टराई, मुरली अधिकारी, प्रेम अधिकारी, कमल सत्याल, कमल सापकोटा, रुद्र ज्ञवाली, समिर ज्ञवाली, मकर बज्राचार्य, चन्द्र प्रसाई, स्वयम्भु शाक्य, बाल जोशि, विनय आर्याल, सुरेशचन्द्र पोखरेल, मनोज सिक्देल, बासु भण्डारी, महेश नेपाल, रमेश पोखरेल, निरज श्रेष्ठ, भिम कार्की, छवि चापागाई, भिम कार्की र नेपाली स्कुलका पहिलो गुरुआमा शारदा नेपाल लगायत धेरै सहयोगीहरुले यो पाठाशालालाई सहयोग पु¥याइरहेको अध्यक्ष लामिछानेले बताए । उनीहरुकै सहयोगमा एनएसटिले नेपाली भाषा र संस्कारको लागि आवश्याक पुस्तक पनि डालसमै छापेको उनले बताए । त्यही पुस्तक अमेरिकाको विभिन्न राज्यको नेपाली पाठशालाले माग गर्दै आएको बताए । अहिलेसम्म लसएन्जलस, भर्जिनिया, अस्टिन, क्यालिफोर्निया, कनेटिकेट, ल्हाबब र न्युयोर्कमा पनि नेपाली भाषाको कक्षा सुरु गरिसकेको छ ।

 

नेपालिज समाज टेक्सास (एनएसटी)

सन् १९९८ मा फाइभ वान थ्रीको रुपमा स्थापना भएको एनएसटीले टेक्सासको नेपाली समाजमा महत्वपूर्ण कार्यहरु गर्दै आएको छ । मौलिक नेपाली भाषा, धर्म र संस्कृति झल्कने विभिन्न कार्यक्रम गर्नका साथै पछिल्लो समय भूकम्पपीडितका लागि डेढ करोड रुपिया एनएसटीकै नेतृत्वमा १० जिल्लामा राहत वितरण गरिएको थियो । त्यतिखेर डा सन्जीव श्रेष्ठ, गौरी जोशी र कृष्ण लामिछानेको भिन्नभिन्नै नेतृत्वमा राहत वितरण गर्न टेक्सासबाट ६० जना जति गएका थिए । त्यस्तै क्षतिग्रस्त लमजुङमा एक, गोर्खामा ३ धादिङमा एक, नुवाकोटामा ३ , काठमाडौंमा २, रसुवामा १, दोलखामा १ र सोलुमा १ विद्यालयलाई पब्लिक पाटनरसिप अन्र्तगत १५ लाखको दरले विद्यालय पुर्ननिर्माणमा सहयोग गरेको अध्यक्ष लामिछानेले बताए । उनका अनुसार त्यतिखेर राहत संकलनको संयोजकमा भुवन आचार्य रहेका थिए । समाजले प्रत्येक महिनाको आइतबार बीमा नभएका नेपालीका लागि निशुल्क स्वस्थ्य परिक्षण र भिक्यार क्लिनिकसँगको सम्झौता अनुसार स्वास्थ्य जाँचमा विशेष छुटको व्यवस्था गरेको उनले बताए । यसका साथै डालसमा कसैलाई मर्दापर्दा पनि एनएसटीले मानवीय सेवाको भावनाले सहयोग गदै आएको छ ।

नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्र

टेक्सासभरिकै पुरानो नेपालीको संस्थाको रुपमा चिनिन्छ एनएसटीलाई । यही संस्थामा सक्रिय समाजसेवीको सहयोगमा डालसमा नेपाली मन्दिर स्थापना गरेको छ । नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्रको नामले चिनिएको यो मन्दिर बुद्ध तथा पशुपतिनाथ मन्दिरको नामले परिचित छ । विशेषगरी हिन्दु र बौद्ध धर्मको साझा धार्मिक आस्थाको आधारमा निर्माण भएको मन्दिरमा पशुपतिनाथ र बौद्धको साथै विभिन्न १६ देवीदेवताको मूर्तिहरु राखिएको छ । यो मन्दिर स्थापना गर्न ६० जना बोर्ड अफ ट्रस्टीले १० हजार डलरको दरले र ३ सय जनाले २५ सय डलरको दरले फाउण्डीङ मेम्बर बनेर र बाँकी सहयोगीले १ हजार भन्दा माथि आर्थिक सहयोग गरी स्थापना गरेको हो । हालसम्मको सबै खर्च गरी मन्दिरमा डेढ मिलियन डलर खर्च भएको अध्यक्ष कृष्ण लामिछानेले बताए । एनएसटी र नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्र मन्दिर एकआपसको परिपुरकको रुपमा रहेको छ । लगभग १६ हजार फिट क्षेत्रफलमा रहेको मन्दिरकै भवनमा एनएसटिले ३ सय अट्ने पार्टी हलसमेत बनाएको छ । पाटी हलको भाडा मन्दिरले उठाए पनि निर्माण गर्ने जिम्मेवारीले एनएसटीले लिदै आएको छ । गत वर्षदेखि मन्दिर चालु भएपनि यसै वर्ष उद्घाटन भएको लामिछानेले बताए । यसको साथै एनएसटीले समाजको सवै सहयोगीको सहयोगमा ३ लाख डलर बराबरका जग्गासमेत खरिद गरिसकेको छ ।

डालसमा हाजिरीजवाफ

एनएसटीले विद्यालयमा अध्ययनरत विभिन्न १० समूहका विद्याथीबीच गत शुक्रबार र शनिबार हाजिरी जवाफ प्रतियोगिताको गरेको थियो । कक्षा १० र १२ को विद्यार्थीबीच भएको प्रतियोगितामा १० विभिन्न चर्चित नदीहरुको नामबाट समूह बनाइको थियो । फाइनलमा पुगेको ५ समूहबाट मेची प्रथम र बागमती दोस्रो भयो । पहिलो हुनेले ल्यापटप र ट्रफी पाए भने दोस्रो हुनेलाई मिनि प्याड । विनय अर्यालको संयोजकत्वमा भएको हाजिरी जवाफ प्रतियोगितामा शुरेस पोखरेल, सुमन कार्की र मनोज सिग्देलले सहयोगीको भुमिका निभाएका थिए ।

प्रकाशित मिति : १८ श्रावण २०७४, बुधबार  ९ : ५३ बजे