१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

उत्तर कोरियाको घमण्ड चकनाचुर पार्ने तयारीमा अमेरिका


३२ श्रावण २०७४, बुधबार  

0
Shares

बीके नेवा

विश्व समुदायको आग्रहलाई बेवास्ता गर्दै दुई दुईटा अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गरी अमेरिकी सुरक्षालाई समेत चुनौती दिएको उत्तर कोरिया झन् एक्लिदै छ । उसलाई सहयोग गर्दै आएका छिमेकी चीन र रुससमेत विपक्षमा उभिएपछि उत्तर कोरिया अफ्यारोमा परेको छ । उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिका र उसको सैन्य अखडा रहेको प्रशान्त महासागरमा आक्रमण तयारी गरेको समाचार बाहिर आएपछि अमेरिका निकै क्रूद बनेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आणविक आक्रमणको धम्की नदिन र आफ्नो आणविक कार्यक्रम तत्काल बन्द गर्न उत्तर कोरियाली नेतृत्वलाई चेतावनी दिनुभएको छ । उहाँले अब पनि उत्तर कोरिया आणविक कार्यक्रम र धम्की बन्द नगरे सैन्य कारबाही गर्ने संकेत गर्नुभएको छ । अमेरिकाले आवश्यक ठानेमा कुनै पनि बेला उत्तर कोरियामाथि आक्रमण गर्नसक्ने तयारी गरेको छ । अहिले अमेरिकाले उत्तर कोरियामाथि आक्रमण गरे उत्तर कोरिया एक्लो हुनेछ । उसको पक्षमा न चीन न रुसले सहयोग गर्ने छन् ।

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले सर्वसम्मत रुपमा प्रस्ताव पारित गर्दै उत्तर कोरियामाथि थप नाकाबन्दी गर्ने निर्णय गरेको छ । अमेरिकाले ल्याएको यो प्रस्तावलाई चीन र रुसले पनि समर्थन गरेका छन् । अब अमेरिकाले चाहेमा उत्तर कोरियामाथि सैन्य कारबाही गर्न यो प्रस्ताव पारितसँगसँगै बाटो खुलेको छ । यस्तो अवस्थामा विश्वकै सवैभन्दा शक्तिशाली अमेरिकासित एउटा सानो मुलुक उत्तर कोरियाले निहुँ खोज्नु, युद्ध गर्न खोज्नु भनेको आफै विनास हुने काम मात्र हो । यो विनासको बाटोमा नलाग्नु नै उत्तर कोरियाको हितमा हुने छ ।

उता छिमेकी दक्षिण कोरिया र जापान दुवै मुलुक उत्तर कोरियाको धम्कीका कारण शान्ति र सुरक्षाको खोजीमा छन् । आर्थिक समृद्धिले शिखर चुमे पनि यी मुलुकको सुरक्षा र शान्ति कमजोर छ । यो नै प्रमुख चुनौतीका रुपमा देखिएको छ । छिमेकी उत्तर कोरियासितको बिग्रदो सम्बन्ध नै असुरक्षाको प्रमुख कारण हो । उत्तर कोरियाले आणविक युद्धसम्मको तयारी गरेको छ जसले गर्दा आणविक युद्ध हुनसक्ने खतरा बढेका छ । दक्षिण कोरिया र जापानको सुरक्षामा अमेरिकी सहयोग महत्वपूर्ण छ । उत्तर कोरियाले हालै दुईवटा अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गरेसँगै तनाव झन् बढेको छ । यस्तै बेला दक्षिण कोरियामा १९ औँ राष्ट्रपतिका रुपमा मुन जाय इनको आगमन भएको छ । उहाँले उत्तर कोरियासित शान्तिवार्ताको प्रस्ताव राखी कोरिया प्रायद्विपमा बढ्दो तनाव घटाउने प्रयास त गर्नुभयो तर उहाँको वार्ता प्रस्ताव उत्तर कोरियाले अस्वीकार गरिदियो ।

दुई कोरियाबीच अत्यन्तै तनाव बढिरहेका बेला राष्ट्रपति बन्नु भएका मुन कोरियाली समस्या र यसको कारणबारे जानकार हुनुहुन्छ । यसको दीर्घकालीन समाधान नखोज्ने हो भने कुनै पनि बेला युद्ध भड्किन सक्छ । त्यसैले उहाँले उत्तर कोरियासित सम्बन्ध सुधार गरी शान्ति स्थापनालाई महत्व दिनुभएको हो । राष्ट्रपतिको कार्यभार सम्हाल्दै उहाँले शान्ति र प्रगतिलाई जोड दिनुभयो । तर उहाँको वार्ता प्रस्तावलाई उत्तर कोरियाले कमाजोरी ठान्यो । यो उत्तर कोरियाका लागि राम्रो संकेत होइन ।

राष्ट्रपति मुनको जन्म उत्तर कोरियाली शरणार्थीका सन्तानमा रुपमा सन् १९५३ को जनवरी २४ मा दक्षिण कोरियाको बन्दरगाह सहर बुसानको शरणार्थी शिविरमा भएको थियो । कोरियाली युद्धका कारण विस्थापित भएका उत्तर कोरियाको हामहुङ गाउँका शरणार्थी दम्पतीका पुत्रका रुपमा जन्मेका उहाँको बाल्यकाल गरिबी र कष्टकर भएको बित्यो । मुन जन्मनुभन्दा तीन वर्षअघि सन् १९५० को डिसेम्बरमा उहाँका बाबुआमा एक छोरीका साथ उत्तर कोरिया छोडेर दक्षिण कोरिया जानुभएको थियो । शरणार्थी शिविरमा अत्यन्तै दुःख,कष्ट गरी हुर्किएका मुनले सन् १९७२ सम्म बुसानमा कानुन विषय अध्ययन गर्नुभयो । त्यो बेला अहिलेका अपदस्थ राष्ट्रपति पार्क गुयन हाईका बाबु पार्क चुङ हिको सैन्य शासन थियो । सो शासनविरुद्ध मुन आन्दोलनमा उत्रनुभयो । आन्दोलनमा लागेको भन्दै उहाँसहित सयौँ युवकलाई जेल हालियो र केही समयपछि रिहा हुनुभयो । उहाँ सन् १९७६ मा कोरियाली सेनामा भर्ती हुनुभयो ।

तर सैन्य सेवामा रुचि नलागेपछि तीन जना साथी मिलेर बुसानमा ल फर्म खोल्नुभयो । सो फर्ममा मुनका तीन साथीमध्ये एक जना पूर्वराष्ट्रपति रो मु ह्युन पनि हुनुहुन्थ्यो । उहाँको ल फर्मले मानव अधिकार र नागरिक अधिकारबारे वकालत गर्ने गथ्र्यो । रो राजनीतिमा प्रवेश गरी सन् २००३ मा राष्ट्रपति बन्नुभयो भने उहाँले कानुन व्यवसायलाई निरन्तरता दिनुभयो । त्यो बेला राष्ट्रपति रोको मुख्य कानुनी सल्लाहकार बन्नुभयो । रोमाथि भ्रष्टाचारको आरोप लाग्यो । संसद्ले महाभियोग लगाई निलम्बन गरेपछि रोले आफ्नो अपमान भएको भन्दै आत्महत्या गर्नुभयो । त्यसपछि मुनले राजनीतिमा प्रवेश गरी बुसानबाट सांसद निर्वाचित हुनुभयो । सन् २०१२ मा भएको राष्ट्रपतीय निर्वाचनमा पार्कसँग थोरै मत अन्तरले पराजित हुनुभएका मुन यसपटक भने निर्वाचत हुनुभयो । पार्क भ्रष्टाचार प्रकरणमा मुछिएपछि मुनको लोकप्रियता एकाएक बढ्यो । मध्य बामपन्थी डेमोक्रेटिक पार्टीकातर्फबाट निर्वाचित भई राष्ट्रपति बन्नुभएका मुनको शासन कालमा दक्षिण कोरियामा सुशासनको अपेक्षा गरिएको छ । तर उत्तर कोरियाका कारण युद्धमा जानेको हो कि भन्ने चिन्ता बढेको छ ।

दोस्रो विश्वयुद्धको समाप्तिसँगसँगै जापानी उपनिवेशबाट मुक्त भएको कोरिया विदेशी शक्तिकै कारण टुक्रियो । सन् १९४८ मा पूँजीवादी व्यवस्थासहितको दक्षिण कोरिया र समाजवादी व्यवस्थासहितको उत्तर कोरिया अलग अलग राष्ट्र बने । दक्षिण कोरियालाई संयुक्त राष्ट्रसङ्घ र अमेरिकाले सहयोग गरे भने उत्तर कोरियालाई रुस र चीनले । दुई वर्षपछि सन् १९५० मा दुई कोरियाबीच भीषण युद्ध सुरु भयो । यो युद्ध सन् १९५३ सम्म जारी रह्यो । झण्डै २० लाख मानिसको ज्यान लिएको यो युद्ध विना शान्ति सम्झौता रोकियो । प्राविधि हिसाबले अहिलेसम्म दुवै राष्ट्र युद्धको अवस्थामा छन् । दक्षिण कोरियाले नाटकीय ढङ्गले आर्थिक प्रगति गरेको छ । दक्षिण कोरिया एसियाकै आर्थिक शक्ति बनेको छ तर दुवै राष्ट्रबीच शत्रुतापूर्ण व्यवहार छ, जसले गर्दा मेलमिलाप र शान्ति कायम हुन सकेन । युद्धकै अवस्थामा दुवै मुलुकले गरेको प्रगति उल्लेख्य रहे पनि फेरि युद्ध भयो भने यो प्रगति नष्ट हुने हो कि भन्ने चिन्ता सर्वत्र छ । दुई कोरियाबीच मेलमिलाप गराउन र उत्तर कोरियाको आणविक कार्यक्रम बन्द गराउन थुप्रै अन्तर्राष्ट्रिय प्रयास भए पनि सफलता मिलेन । लगातार आणविक परीक्षण गर्दै उत्तर कोरियाले आफ्नो शक्ति प्रदर्शन गरेको छ । दुई कोरियाबीच बढ्दो यो दूरी र तनाव घटाउन शान्तिवार्ताको विकल्प छैन । युद्धले समस्याको समाधान गर्न सक्दैन । कोरियामा शान्ति स्थापना गर्ने हो,युद्धबाट दुवै मुलुक जोगाउने हो भने साथै समृद्धिलाई संस्थागत गरी समृद्धि र शान्तिसहितको कोरिया प्रायद्विप बनाउने हो भने उत्तर कोरियाले आणविक कार्यक्रम बन्द गर्नुपर्छ नत्र अब अमेरिकाका पहिलो निशाना नै उत्तर कोरिया बन्नेछ । पछिल्लो पटक अमेरिकी टापु गुआममा आक्रमण गर्ने उत्तर कोरियाली धम्की आत्मघाती कदम हुनेछ ।

प्रकाशित मिति : ३२ श्रावण २०७४, बुधबार  ८ : ५४ बजे