काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा यही बुधबार भारतको अाैपचारिक भ्रमणमा जाने भएका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवा ५ दिनका लागि भारत भ्रमणमा जान लागेका हुन्।
पराराष्ट्र मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिअनुसार भ्रमणका दौरानमा प्रधानमन्त्री देउवा नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा बस्नेछन्।
बिहीबार राष्ट्रपति भवनमा देउवाको सम्मानमा आयोजित कार्यक्रममा सामेल हुनेछन्। सोही दिन राजघाटमा रहेको माहत्मा गान्धीको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम छ। बिहीबार नै प्रधानमन्त्री देउवाले भारतका राष्ट्रपति रामनाथ कोविन्दसँग भेटघाट गर्नेछन्।
भ्रमण अवधिमा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदी र मन्त्रिपरिषदका अन्य सदस्य र राजनीतिक व्यक्तित्वसँग भेटघाट गर्नेछन्। प्रधानमन्त्री देउवा आउँदो आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीको भ्रमण टोलीमा उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, सरकारका अन्य मन्त्रीहरु, सांसद्हरु, सरकारका सचिव र अन्य उच्च पदस्थ सरकारी अधिकारी रहनेछन्।