१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

लन्डनमा तीजः कथासंग्रहमाथि परिचर्चा


९ भाद्र २०७४, शुक्रबार  

0
Shares

लण्डन÷बेलायतमा रहेर साधनारत कथाकार सञ्जु बजगाईँको कथा सङ्ग्रह ‘मध्यधार’को परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । तीजको अवसर पारेर बुधबार लन्डनको एजवेयरमा लाभेन्डर बुक क्लबद्वारा उक्त पुस्तकको चर्चा गरिएको थियो । मध्यधार कथासंग्रह दोभान प्रकाशनद्वारा प्रकाशित गरिएको हो ।

पुस्तकको चर्चा गर्ने क्रममा कार्यक्रमका समीक्षक एवम् कवि छविरमण सिलवालले कथाकार सञ्जु बजगाईँका कथामा प्रवासी जीवनको यथार्थको प्रतिबिम्ब पाइने बताए । कथामा नारी संवेगको मार्मिक चित्रण पाइए पनि कथाको धरातल फरक किसिमको भएकाले बजगाईँका कथामा भिन्नै स्वाद भएको सिलवालले बताए ।

कार्यक्रममा कथाकार बजगाईँले आफ्नो कथा लेखनको चर्चाको क्रममा नारीका समस्या र परिवर्तित विशेषताहरुलाई आफूले कथामा प्रस्तुत गरेको बताइन् । आफ्नो कथा लेखनको पृष्ठभूमि, विषय र चरित्र छनौटको प्रक्रियाका बारेमा चर्चा गर्दै कथाकारले आफूले देखे भोगेकै यथार्थको कलात्मक अभिव्यक्ति भएको स्वीकार गरिन ।

बुक क्लबकी संयोजक राजेश्वरी घिमिरेले चाडपर्वलाई नयाँ र सिर्जनात्मक ढंगले मनाउने उद्देश्यस्वरुप कार्यक्रमको आयोजना गरिएको बताइन् । बजगाईँको लेखन प्रवासमा रहेका नेपाली महिलाहरुका लागि प्रेरणादायी बन्ने कुरा घिमिरले बताइन । आगामी दिनमा पनि यस्तै कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिइन ।

कार्यक्रममा साहित्यकार एवम् समकालीन साहित्य प्रतिष्ठान बेलायतका अध्यक्ष कृष्ण बजगाईँ, साहित्यकार विजय सापकोटा, कवि रञ्जु थापा लगायतले कथा संग्रहमाथि आ–आफ्ना धारणा प्रस्तुत गरेका थिए ।

यसअघि ‘समुद्र र सपना’ कथासंग्रह प्रकाशित गरिसकेकी बजगाईँको यो दोस्रो कथासंग्रह हो । संग्रहमा डायस्पोरिक विषयवस्तुका साथमा नारी संवेगात्मक, सामाजिक, पारिवारिक एवम् मनोवैज्ञानिक विषयवस्तुका गरी पन्ध्रवटा कथा समेटिएका छन् ।

प्रकाशित मिति : ९ भाद्र २०७४, शुक्रबार  ७ : ४१ बजे