१९ कार्तिक २०८१, सोमबार | Mon Nov 4 2024

ठेकेदार मन्त्री बनिसके, तर बनेन स्वास्थ्यचौकी


११ भाद्र २०७४, आइतबार  

0
Shares

प्युठान : गाउँमै गुणस्तरीय स्वास्थ्यसेवा दिने उद्देश्यले ६ वर्षअघि स्वास्थ्यचौकी भवन निर्माण जिम्मा पाएका ठेकेदार रोल्पाका अमरसिंह पुन कांग्रेसका तर्फबाट ०७० सालमा समानुपातिक कोटाबाट सभासद् बने । तत्कालीन ठेकेदार उनी हालै सिँचाइ राज्यमन्त्री भएका छन् । तर, स्वास्थ्यचौकी भने अझै बन्न सकेको छैन ।

सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय रोल्पाका लेखा अधिकृत झगबहादुर दसौदीका अनुसार ठेकेदार पुनले डेढ वर्षभित्र भवन निर्माणको पूरै काम सम्पन्न गर्ने गरी भ्याटबाहेक ७७ लाख ८८ हजार ६ सय ९५ रुपैयाँमा जिम्मा लिएका थिए ।

०६८ असारमा सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय रोल्पामार्फत ‘नेपाल प्रगति÷राप्ती÷उच्च हिमालय जेभी’ले भवन निर्माणको जिम्मा पाएको थियो । ठेकेदार सांसद बनेपछि भवन निर्माणले गति नलिएको स्थानीयको गुनासो छ ।

भवन नहुँदा सेवा प्रवाहमा समस्या देखिएपछि दुई तलाको १६ कोठे भवन निर्माण गर्न लागिएको हो । निर्माण थालिएपछि गाउँले निकै हौसिएका थिए । तर, वर्षौं बितिसक्दासमेत भवन निर्माणले पूर्णता नपाएपछि स्थानीय चिन्तित बनेका छन् । भवन निर्माणका लागि गाउँलेले सम्बन्धित निकायलाई पटक-पटक ताकेता गर्दासमेत सुनुवाइ नभएको स्थानीयले गुनासो गरे । अन्नपूर्ण पोस्टमा केशर रोकाले खबर लेखेका छन् ।

प्रकाशित मिति : ११ भाद्र २०७४, आइतबार  ७ : २७ बजे