४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

न्युयोर्कमा नेपाल आदिवासी चलचित्र महोत्सब सम्पन्न: ‘लोम्बा’ उत्कृष्ट चलचित्र ठहरिए, दर्शकको रोजाईमा परे ‘सेम तबा म्हि’


१३ भाद्र २०७४, मंगलबार  

0
Shares

 

मच्छे गुरुङ, न्युयोर्क ।

ब्यस्त न्युयोर्क शहरमा गत सप्ताहन्त धेरैको समय चलचित्रहरु हेर्नमा बित्यो । नेपाल आदिवासी जनजाती महासँघ अमेरिकाद्वारा आयोजित नेपाल आदिवासी चलचित्र महोत्सव २०१७ मा देखाईएका बिभिन्न आदिवासी तथा जनाजाति केन्द्रित चलचित्रहरु उनीहरुले हेरेका थिए । तीन दिन सम्म उडसाईड स्थित गुल्सन टेरेसमा तीन लघु चलचित्र सहित ११ चलचित्रहरु प्रदर्शन गरिएका थिए । प्रदर्शित चलचित्रहरुमा गुरुङ समुदायको मैरिमो र कर्म क्याँ, मगर समुदायको लोम्बा, नेवार समुदायको कृषा गौतमी, राई समुदायको सुम्निमा, तामाङ समुदायको सेम तबा म्हि, लिम्बु समुदायको हेलुक्वा तथा उपल्लो मुस्ताङ समुदायको प्रतिनिधित्व गर्ने शेरढाक थिए । पुवालो, फेके र कल्ली गरी तीन लघु चलचित्रहरु हेरिए ।

न्युयोर्कमा आदिवासी चलचित्रहरु देखाउँने अभियान नेपाल अादिवासी तथा जनजाती महासँघ अमेरिका (फिप्ना)को यो दोस्रो पटक हो । केहि बर्ष अघि पनि स्थानिय सँस्था सिनेमिङगासँगको सहकार्यमा फिप्नाले केहि चलचित्रहरु प्रदर्शनी गरेका थिए । त्यसैलाई अझै परिष्कृत गर्दै महोत्सवको रुपमा लगिएको अध्यक्ष लुईसाई वाईबाले बताए । यसपटक बिभिन्न ११ बिधामा चलचित्रहरुलाई अवार्डको समेत ब्यवस्था गरिएको थियो । उत्कृष्ट चलचित्रको लागि भने एक लाख रुपैयाँ राशीको पुरस्कार प्रदान गरियो । अनिल बुढा मगर निर्देशित मगर भाषाको चलचित्र लोम्बाले उत्कृष्ट चलचित्रको बाजी मारे । उत्कृष्ट निर्देशकको अवार्ड पनि लोम्बाबाटै अनिलले पाए । यस बाहेक उत्कृष्ट भेषभुषाको अवार्ड समेत गरी जम्मा तीन वटा अवार्डहरु जितेर लोम्बाले ह्याट्रिक गरे । त्यसै गरी तीन वटा अवार्डहरु जितेर ह्याट्रिक गर्ने अर्को चलचित्र तामाङ भाषाको सेम तबा म्हि बने । यस चलचित्रबाट राज कुमार मोक्तानले उत्कृष्ट पार्श्व सँगीतको अवार्ड प्राप्त गरे भने बिक्रम लामा उत्कृष्ट सिनेमाटोग्राफी बन्न सफल भए । दर्शकको अत्याधिक भोट बटुल्न सफल चलचित्र सेम तबा म्ही अन्तत: महोत्सबमा दर्शकको छनौटमा परेको चलचित्र बने ।

उत्कृष्ट अभिनय तर्फ महिलामा गुरुङ चलचित्र मैरिमोबाट नायिका सपना गुरुङले पाईन् भने पुरुष तर्फ नायक छेवाङ रिन्जिन् गुरुङले चलचित्र शेरढाकबाट आफ्नो साथमा राखे । उत्कृष्ट सम्पादनमा कृषा गौतमी चलचित्रका बालकृष्ण ठहरिए भने सुम्निका चलचित्रका कथाकार प्रविन पुमा उत्कृष्ट कथाकार बने । उत्कृष्ट लघु चलचित्रमा १७ मिनेटको पुवालो छानिए । महोत्सवलाई बिशेष सघाउँने केहि महानुभावहरुको हातबाट बितरित अवार्ड तथा पुरस्कार बितरण कार्यक्रम अस्टोरिया स्थित एक हलमा गरिएको थियो । अवार्ड बितरण कार्यक्रममा महोत्सव सँयोजक मणी बाङदेलले स्वागत मन्तब्य राख्दै नेपाली अादिवासी चलचित्रहरुको लागि अमेरिकामा समेत बजार बढाउँन महोत्सब आयोजना गरिएको बताए । फीप्नाका अध्यक्ष लुईसाङ वाईबाले धन्यबाद मन्तब्य राख्दै महोत्सवलाई अगामी बर्षहरुमा पनि निरन्तरता राख्ने घोषणा गरे । बिनिता तामाङ र प्रशन एलुङ राई सँचालित कार्यक्रम तोकिएको समय भन्द केहि ढिला ”हामी आदिवासी” बोलको गीतमा गरिएको नृत्यबाट शुरु भएको थियो । अवार्ड तथा पुरस्कार प्राप्त नगरेका चलचित्रसँग सम्बन्धित केहिले कार्यक्रम स्थलमा होहल्ला मच्चाएका थिए । अवार्डहरु निश्पक्ष तरीकाले नभएको भन्ने उनीहरुको जिकीर थियो ।

प्रकाशित मिति : १३ भाद्र २०७४, मंगलबार  ४ : ११ बजे