मच्छे गुरुङ, न्यूयोर्क ।
कृषि तथा खाद्य सुरक्षाविज्ञ यमुना घले अमेरिकामा सम्मानित भएकी छिन् । घलेले नेपालको कृषि क्षेत्र र खाद्य सुरक्षाको क्षेत्रमा पुरयाएको योगदानको कदर गर्दै तमु परिवार न्यूयोर्कले सम्मान गरेको हो ।
नेपालका लागि स्वीस राजदूतावासमा वरिष्ठ कार्यक्रम अधिकृतको रुपमा कार्यरत घले विगत २५ बर्षदेखि कृषि तथा खाद्य सुरक्षाको क्षेत्रमा नेपालमा कार्यरत हुनुहुन्छ । वगेनिंगन युनिभर्सिटी नेदरल्याण्ड्सबाट कृषिमा मास्टर डिग्री प्राप्ता घले अहिले नेपालको कृषी र वन विश्वविध्यालयमा खाद्य सुरक्षा ब्यवस्था र खाद्य अधिकार बिषयमा विद्यावारिधी गर्दै हुनुहुन्छ ।
घलेले नेपालको कृषि क्षेत्रलाई आर्थिक उन्नति र आर्थिक उपार्जनसँग जोड्नु पर्ने भन्दै त्यसतर्फ जनसमुदाय र सरकार सचेत हुनुपर्ने बताउनुभयो । त्यसैगरी घलेले राज्यको विकास र संरचनामा पछाडी पारिएका बर्गको सँलग्नता र उपस्थितिका लागि भावी सन्ततिलाई उपयुक्त खाल्को वातावरण बनाउँदै लैजानु पर्नेमा विशेष जोड दिनुभयो । उहाँले विदेशमा रहेका दाजुभाइ तथा दिदी बहिनीहरुले देशको आर्थिक बृद्धिमा रेमिट्यान्समार्फत योगदान पुरयाएको चर्चा गर्दै रेमिट्यान्सलाई आर्थिक उपार्जन हुने खाल्का कृषी उद्यमशिल क्षेत्रमा लगानी गर्न पनि आग्रह गर्नुभयो ।
गुरुङकी चेली भएर देशको विकास क्षेत्रमा पुरयाएको योगदानको चर्चा गर्दै तमु परिवार न्यूयोर्कका अध्यक्ष डम्मर जंङ्ग गुरुङले घलेको काम र योगदानको प्रशंशा गर्नुभयो । उहाँले घलेको ज्ञान, अनुभव र शिक्षालाई अनुसरण गरेर नेपाली नयाँ पुस्तालाई अघि बढन सुझाव दिनुभयो । तमु परिवारका सचिव जेबी गुरुङद्वारा सञ्चालित सम्मान तथा अन्तरकृया कार्यक्रममा उपाध्यक्ष मनिता गुरुङले स्वागत मन्तव्य राख्नु भएको थियो ।