दुई महिनाको नानीलाई स्ट्रोलरमा राखेर कन्सर्टमा रमाई रहेकी थिईन् टोरोन्टो निवासी जुनी पाख्रीन श्रेष्ठ । उनी आफ्नो मन पर्ने गायक निमा रुम्बाको हरेक गीतमा झुमिन्, भरपुर रमाईन्, साथै मोबाईलमा भिडियो भर्न समेत भ्याईन् । दिउँसो दुई बजे शुरु भएको कन्सर्टमा साँझ आठ बज्दा पनि झन झन जोशिदै गएको लाग्थ्यो, दर्शकहरु ‘वान्स मोर’ भन्दै रमाई रहेका देखिन्थे । क्यानडाको टोरोन्टो शहरमा केहि दिन अघि सम्पन्न भएको हिमालयन फेस्टीभलको अवसरमा प्रख्यात पपगायक निमा रुम्बाले सबै दर्शकलाई मज्जाले नचाए । उनले दुई चरण गरी लगभग दर्जन बढी गीतहरु दर्शक माझ पस्केका थिए । तालीको गटगडाहट र ‘वान्स मोर’ को गुञ्जाहट उनको हरेक गीत पश्चात भएको थियो । उनी फेस्टीभलको बिशेष आकर्षक बनेका थिए ।
नेपालिज क्यानेडियन सामुदायिक सेवा आयोजक रहने हिमालयन फेस्टीभल टोरोन्टोमा बर्षेनी हुने गर्दछ । आयोजकका अनुसार यसको मुख्य उध्देश्य नेपाली मौलिक बहुसँस्कृती, खानपान एवं भेषभुषालाई क्यानडामा हुर्कीदै गरेका क्यानेडियन नेपाली पिढीलाई देखाउँनको साथै यसको गौरवता, महत्व तथा विशेषता जोगाउँने र क्यानडामा नेपालको प्रचार प्रसार गरी नेपाललाई पर्यटन गन्तब्यको रुपमा चिनाउँने रहेको छ । टोरोन्टोमा हिमालयन फेस्टीभलको ईतिहासले एक दशक पुरा गरी सकेको छ । यसपालीको एघारौ फेस्टीभलमा मम, छोयला, सेलरोटी जस्ता मौलिक नेपाली खानेकुरा खानाकै लागि क्यानडियनहरु आएका भेटिए । उनीहरु मध्ये केहि नेपाल घुमेर फर्केका थिए भने केहि अब जाने योजनामा रहेको बताए । केहि चाही नेपाल पुग्न नसके नि आफ्नै शहरमा पृथक कला कौशल हेर्न र फरक खाना पाईने भएकोले आएको खुलाए । खानेकुराको स्टल स्टल घुमेर चाख्दै खाना पाउँदा मजा आएको उनीहरुले सुनाए । पञ्चेबाजा, बिविध साँस्कृतिक झाँकी प्रदर्शनी, नृत्य एवं फरासिलो नेपालीहरु बहुत अाकर्षक रहेको उनीहरुले बताए । गायक निमा रुम्बाको गीतमा नेपालीहरुसँगै तालमा ताल मिलाउँदै धेरैले नाच्ने रहर समेत पुरा गरे । स्थानिय कलाकारहरुबाट पनि आकर्षक नृत्य तथा बिभिन्न गितहरु प्रस्तुत गरिए । फेस्टीभलमा एभरेष्ट ताईक्वान्दोबाट प्रदर्शित मार्शल आर्ट खेल पनि निकै नै आकर्षक रहेको दर्शकहरुको प्रतिक्रिया थियो ।
क्यानडा स्थित बिभिन्न नेपाली सँघसँस्थाको बाक्लो उपस्थिती रहेको फेस्टीभलमा टोरोन्टोको प्रतिनिधित्व गर्ने साँसद जुली डब्रुसिन, क्यानडाका लागि नेपालको महामहिम राजदूत काली प्रसाद पोख्रेल, गैह्र अावासीय नेपाली सँघ, क्यानडाका अध्यक्ष गोपी काफ्ले, महासचिव चिरन घिमीरे लगायत बिभिन्न सँघ सँस्थाका प्रतिनिधीहरुले मन्तब्य राखेका थिए । आयोजक सँस्थाका सभापति गोपाल भन्डरीले स्वागत मन्तब्य राखेका थिए भने डाक्टर तुलसी धरेलबाट धन्यबाद ज्ञापन मन्तब्य भएको थियो । बुध्दीसागर बस्याल, मेरिगोल्ड भन्डरी र अणु गौतमले कार्यक्रमलाई निकै रोचक र आकर्षक ढँगले सँञ्चालन गरेका थिए ।
थप केहि तस्वीरहरुसहित ।