१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

प्रचण्डले भने-अतिवाद छोडौं, पहाड–मधेश जोडौं


२५ भाद्र २०७४, आइतबार  

0
Shares

बारा । पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहाडका विरुद्ध मधेश र मधेशका विरुद्ध पहाडलाई उभ्याउने अतिवादी सोच छोडेर पहाड र मधेशलाई जोड्न राजनीतिक दलहरुलाई अपील गरेका छन् ।
स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि शनिबार बारा जिल्लामा आयोजित विभिन्न जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पहाड र मधेशलाई जोड्न अपील गरेका हुन्। प्रचण्डले भने, ‘पहाडका विरुद्ध मधेश र मधेशका विरुद्ध पहाड उभ्याउने सोचले देशको हित गर्दैन, राष्ट्रिय एकता बलियो हुँदैन, जनताले अधिकार पाउन पनि सक्दैनन् । त्यसैले सबै राजनीतिक पार्टीले पहाड र मधेशलाई भिडाउने होइन, जोड्नेतिर सोच्नुपर्छ ।’
“हामीले जनयुद्ध लड्यौं, त्यो बेला हामी बाहेक कुनै पनि पार्टीमा गणतन्त्र, संघीयता, समानुपातिक भन्ने हैसियत थिएन । हामीले जनयुद्ध लडेर, १३०० को रगत बगाएर, सम्पूर्ण उत्पीडित जनताको पहिचान र अधिकारको लडाई उचाईमा पुगेपछि मधेशवादी दल पनि संघीयता भन्न सक्ने भए, प्रचण्डले थपे, “अहिले मधेशी दलहरु संघीयता हाम्रो भन्न खोज्दैछन्, उनीहरुको तागतले संघीयता आएको होइन, क्षेत्रीय र पृथकतावादी शक्तिले देशको नेतृत्व गर्न सक्दैनन् ।’’
सभामा प्रचण्डले माओवादी ठूलो दिलको पार्टी भएको बताए । सिम्रौनगढमा आयोजित सभामा प्रचण्डले भने, “माओवादीको दिल निकै ठूलो छ । हामीमा संकिर्ण र अतिवादी सोच छैन । हामी हिमाल, पहाड र मधेशका जनतालाई समान माया गर्छांै, सम्मान गर्छौं, हामी कसैलाई अपमान गर्दैनौं र संकिर्ण सोच राख्दैनौं ।’

‘माओवादी मात्रै जनताको असली मित्र हो, साथी हो । हामी मधेशमा पहिचान, अधिकार र आर्थिक विकासको नेतृत्व गर्न चाहन्छौं’, प्रचण्डले भने, “तपाईहरुमा जुन जागरण आएको छ, अब माओवादीले त्यसको नेतृत्व गर्नेछ र जनताको अधिकार र विकासको चाहना पुरा गर्नेछ ।’

प्रकाशित मिति : २५ भाद्र २०७४, आइतबार  ४ : १० बजे