२६ आश्विन २०८१, शनिबार | Sun Oct 13 2024

सम्मान ग्रहणपछि राज्यमन्त्री शेर्पाले भने, ‘नाम सामान्य भए पनि जटिल मन्त्रालय रहेछ’


३० भाद्र २०७४, शुक्रबार  

0
Shares

एभरेस्ट टाइम्स/काठमाडौं

सामान्य प्रशासन राज्यमन्त्री ओङदी शेर्पाले आफु सामान्य राज्यमन्त्री भएपछिको अनुभव सुनाउँदै मन्त्रालयको नाम सामान्य भए पनि काम भने जटिल भेटिएको बताएका छन् ।

नेपाल शेर्पा संघद्वारा राज्यमन्त्री शेर्पालाई सम्मानका लागि शुक्रबार बौद्धस्थित होटल खाङ्रीमा आयोजित कार्यक्रममा मन्त्री शेर्पाले उक्त भनाई राखेका हुन् ।

‘छोटो समय भएको छ, सामान्य राज्यमन्त्री भएको छु,’ मन्त्री शेर्पाले भने, ‘तर यो मन्त्रालय ३३ हजार निजामती कर्मचारीमध्ये कतिपय राम्रो सेवासुविधा पाएका छन्, कतिपयले अस्थायी भएरै जागिरबाट अवकाश पाएका रहेछन् । यसलाई न्यायिक ढंगले समाधान गर्न निकै ऐननियमहरु बनाउनुपर्नेछ । यी समस्या र व्यवस्थापन हेर्दा निकै जटिल रहेछ यो मन्त्रालय ।’


कार्यक्रममा मन्त्री शेर्पाले संघीयताअनुसार गाउँपालिकामा अधिकार पु¥याउन र त्यहाँ विभिन्न निकाय स्थापना गर्न जटिल अवस्था रहेको बताए ।

अन्य समूदायका भन्दा पनि शेर्पा समूदाय अगाडि रहेको र शेर्पा समूदायका महिलाहरु सचेत ढंगले लागेकाले पनि शिक्षा र राजनीतिक क्षेत्रमा अग्रस्थानमा लागेको उनको भनाई थियो ।


त्यसैगरी मन्त्री शेर्पाले शेर्पा समूदायले शेर्पा राज्य माग गर्नुपर्ने स्पष्ट पारे । ‘शेर्पा समूदायका लागि शेर्पा स्टेट चाहिन्छ, यसका लागि शेर्पाको उद्गम थलो सोलुखुम्बुलाई बनाउनुपर्छ भन्ने मेरो जोड हो,’ उनले भने ।

कार्यक्रममा राज्यमन्त्री शेर्पालाई शेर्पा संघ नेपालका अध्यक्ष आङदोर्जी लामा शेर्पाले सम्मानपत्रका साथ खादा लगाई सम्मान गरेका थिए । त्यसैगरी राज्यमन्त्री शेर्पालाई पूर्वमन्त्री कृपासुर शेर्पा, पूर्वमन्त्री याङ्किला शेर्पाले पनि खादा ओढाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा पर्यटन व्यवसायी आङछिरिङ शेर्पालगायत विभिन्न किदुगका प्रतिनिधि, हिमालयन शेर्पा सांस्कृतिक संघका प्रतिनिधि, शेर्पा पत्रकारहरुको उपस्थिति थियो ।

प्रकाशित मिति : ३० भाद्र २०७४, शुक्रबार  ७ : ४० बजे