काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२ औं महासभामा भाग लिन असोज ३ गते त्यसतर्फ प्रस्थान गर्दैछन् । २० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका जान लागेका प्रधानमन्त्री देउवाले महासभालाई यही सेप्टेम्बर २३ तारिखमा सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।
प्रधानमन्त्री देउवाले सोही दिन राष्ट्र संघका महासचिव एन्टिोनियो गुटेरससँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । ‘ जनतामा केन्द्रितः दिगो पृथ्वीमा शान्ति र प्रतिष्ठित जीवननिम्ति प्रयास’ भन्ने मूल विषयका साथ महासभाको उच्चस्तरीय छलफल यही १९ सेप्टेम्बरदेखि शुरु हुँदैछ । महासभाको दौरान न्युयोर्कमा रहँदा प्रधानमन्त्री देउवाले सेप्टेम्बर २१ मा अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी, श्रीलंकाका राष्ट्रिपति मैत्रीपाला सिरिसेना, बंगलादेशका राष्ट्रपति सेख हसिना र पाकिस्तानका प्रधानमन्त्री सहिद खान अब्बासीसँग द्विपक्षीय भेटवार्ता गर्नछन् ।
महासभामा भाग लिन तथा आवश्यक तयारीका लागि उपप्रधानमन्त्री कृष्णबहादुर महरा भने आजै न्यूयोर्क प्रस्थान गर्दै छन् ।
न्युयोर्कमा रहँदा उपप्रधानमन्त्री महरा १९ सेप्टेम्बरमा अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् भने सोही दिन अपराह्न राष्ट्र संघका महासचिव गुटेरसद्वारा आयोजित दिवाभोजमा सहभागी हुनुहुने कार्यक्रम छ ।
प्रधानमन्त्री देउवासँग नेपाली प्रतिनिधिमण्डलमा उपप्रधानमन्त्री महरा, महिला, बालबाललिका तथा समाज कल्याणमन्त्री आशा कोइराला, उनकी पत्नी डा. आरजु देउवा राणा, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागी, न्यूयोर्कस्थित राष्ट्र संघको स्थायी नियोगका लागि नेपाली प्रतिनिधि दुर्गाप्रसाद भट्टराईलगायत उच्च सरकारी अधिकारी सहभागी हुनेछन् । प्रधानमन्त्री देउवा नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सेप्टेम्बर २८ मा स्वदेश फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।