एपी वान टेलिभजनले अायोजना गरेको पहिलो नेपाल अाइडलको उपाधि बुद्ध लामाले जितेका छन् । कतारको दोहास्थित एसियन टाउन एम्पिथिएटर, ग्रान्ड मल, सनायामा शुक्रबार राति भएको अन्तिम प्रतिस्पर्धामा हास्य कलाकार द्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश अाचार्यले पोखराका बुद्ध लामा पहिलो नेपाल अाइडल भएको घोषणा गरेका हुन् ।
उत्कृष्ट तीनबाट विजेता छनोटका लागि ९ करोड ३१ लाख ८३ हजार ३ सय ३५ भोट प्राप्त भएको थियो। जसमध्ये ४ करोड ४८ लाख ४५ हजार २ सय ६३ भोट प्राप्त गर्दै बुद्धले प्रतिष्ठाको पहिलो आवाज नेपाल आइडलको उपाधि जितेका हुन्।
यो जितसँगै उनले २० लाख रुपैयाँ, महिन्द्रा केयूभी १०० कार र १५ लाख रुपैयाँको एल्बम कन्ट्र्याक प्राप्त गरेका छन्। बुद्धलाई लोकप्रिय हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) ले पुरस्कार प्रदान गरे।
अाइडलमा मोरङका निशान भट्टराई फर्स्ट रनर अप अर्थात् दोस्रो भए भने ललितपुरका प्रताप दास सेकेन्ड रनर अप अर्थात् तेस्रो भए। निशानले १५ लाख र दासले १० लाख पाउनेछन् । निशानले ३ करोड ५० लाख ८६ हजार २ सय २३ भोट प्राप्त गरे भने प्रतापले १ करोड ३२ लाख ५१ हजार ८ सय ४९ भोट पाए।