१६ स्थानीय तहमध्ये नेकपा (माओवादी केन्द्र) ६ तहमा विजयी, संघीय समाजवादी फोरम नेपाल र नेकपा एमालेले चार÷चार तथा नेपाली काँग्रेसले दुई स्थानीय तहमा विजयी
लहान । सिरहाको १७ स्थानीय तहमध्ये सिरहा नगरपालिका बाहेक सबै स्थानीय तहको मतगणना सकिएको छ ।
अहिलेसम्म सार्वजनिक भएको सिरहाको १६ स्थानीय तहमध्ये नेकपा (माओवादी केन्द्र)ले ६ वटा स्थानीय तहमा विजयी भएको छ, भने संघीय समाजवादी फोरम नेपाल र नेकपा एमालेले चार÷चार तथा नेपाली काँग्रेसले दुई स्थानीय तहमा विजयी हासिल गरेका छन् ।
गोलबजार नगरपालिकामा नेकपा माओवादी, लहान नगरपालिकामा नेकपा एमाले र सिरहाको बरियारपट्टि गाउँपालिका तथा लक्ष्मीपुर पतारी गाउँपालिकामा संघीय समाजवादी फोरम नेपाल विजयी भएका छन् ।
सिरहाको गोलबजार नगरपालिकामा नेकपा माओवादी केन्द्रका देवनाथ साह ६ हजार ४४३ मतसहित प्रमुखमा र रेशमकुमारी थापा(यशु) ६ हजार ३४९ मतसहित उपप्रमुखमा निर्वाचित भए ।
लहान नगरपालिका प्रमुखमा नेकपा एमालेका मुनि साह सुडी ११ हजार ३०७ मतसहित प्रमुखमा र एमालेकै सरियारकुमारी चौधरी ११ हजार १६८ मतसहित उपप्रमुखमा विजयी भए ।
बरियारपट्टि गाउँपालिकामा संघीय समाजवादी फोरम नेपालले विजयी हासिल गरेको छ । फोरमका सन्तोषकुमार महतोले तीन हजार ९७९ मतसहित प्रमुखमा विजयी भए भने फोरम नेपालकै रेखाकुमारी यादव तीन हजार ७६३ मतसहित उपाध्यक्षमा विजयी भए ।
लक्ष्मीपुरपतारी गाउँपालिकाको अध्यक्षमा संघीय समाजवादी फोरमका रामबल्लभ साह चार हजार चार मतसहित विजयी भएका छन् भने उपाध्यक्षमा फोरमकै आशादेवी यादव तीन हजार ६४६ मतसहित विजयी भए ।