९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025

माओवादी केन्द्रमात्र होइन, एमाले र नयाँ शक्ति पनि विघटन भयो-प्रचण्ड


२३ आश्विन २०७४, सोमबार  

0
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ राजनीतिक संस्कार स्थापना गरी मुलुकको आर्थिक र सामाजिक विकासका लागि नै कम्युनिस्ट पार्टीबीच एकता हुन लागेको बताएका छन् ।

 

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीको सहायक संगठन योङ कम्युनिस्ट लिग वाइसिएल नेपालको केन्द्रीय स्कुलिङ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्तिबीच हुने पार्टी एकताले नयाँ विचारसहितको पार्टी बनाउने बताए ।

प्रचण्डले भने,“पार्टी एकता भन्नु नै एमाले, माओवादी केन्द्र र नयाँ शक्तिको विघटन हो । पुरानै अवस्थामा कोही पनि रहँदैनन् । नयाँ आधारमा नयाँ पार्टी बनाउने कुरा हो ।”

अध्यक्ष दाहालले विगतको आफ्नो पार्टी हिजो मोटो मशाल विघटन नभएको भए एकता–केन्द्र बन्ने थिएन, एकता–केन्द्र विघटन नभएको भए माओवादी बन्ने थिएन भन्दै समयको मागअनुसार पार्टी बन्ने र एकीकृत हुने भएकाले यसलाई अन्यथारुपमा नलिन आग्रह गरे ।

“हामी विघटन हुँदैहुँदै माओवादी केन्द्रसम्म आयौँ, त्यसले नेपालमा गणतन्त्र र संघीयता सम्भव भयो । अब यसलाई अब बन्ने पार्टीले देशमा समाजवादी क्रान्ति सम्भव छ । हामी सो दिशामा केन्द्रित छौँ ।” उनले भने ।

समाजवादी क्रान्तिको अभिभारा पूरा गर्न विशाल शक्ति सञ्चयका लागि वाम तालमेल र एकताको प्रयास थालिएको बताउँदै यो एकताले देश परिवर्तका लागि ठूलो तागत सिर्जना हुने दाबी गरे ।

राजनीतिक पार्टी पोखरी जस्तोे जमेर बस्यो भने क्रान्तिको प्रवृत्ति सकिने भन्दै उहाँले जोखिम मोल्न र चलायमान बन्न कार्यकर्तालाई निर्देशन दिए ।

अध्यक्ष दाहालले भने, “अबको नयाँ क्रान्तिको शुरुवात तपाईं हामीले गर्ने हो, जमेको पोखरी जस्तो बनेर हुँदैन ।” माओवादी एमालेमा विलय भयो भन्ने बजार हल्लाको पछाडि नलाग्न अनुरोध गर्दै प्रचण्डले एमाले नै गणतन्त्र, संघीयता, धर्म निरपेक्षताजस्ता माओवादीका मुद्दा सुदृढ गर्न लागिपरेको स्पष्ट पारे।

थप स्पष्ट पारे, “पार्टी एकता माओवादीको एमालेकरण र एमालेको माओवादीकरण होइन । यो नयाँ आधारमा पार्टी बनाउने विषय हो ।”

 

प्रकाशित मिति : २३ आश्विन २०७४, सोमबार  ४ : १८ बजे