काठमाडाैं । असोज २८ गते शनिबार काठमाडाैंको शिल्पी थिएटरमा पत्रकार तथा साहित्यकार दामोदर न्यौपानेको चौथो कृति ‘स्वर्णिम समय’ सार्वजनिक गरिएको हो ।
वरिष्ठ कथाकार माया ठकुरी, राजनीतिज्ञ नयनबहादुर स्वाँर, समालोचक कृष्ण प्रसाद गौतम, सञ्चारकर्मी हरिहर विरही र अञ्जु भट्टराईले पुस्तकको घुम्टो उघारेका थिए ।

कान्तिपुर दैनिकको साप्ताहिक बाल कोसेली ‘कोपिला’ संयोजन गर्ने क्रममा विभिन्न व्यक्तित्वको बाल्यकाल खोतल्न पुगेका न्यौपानेले त्यसैबेला पुस्तक लेख्ने योजना बनाइसकेको बताए । भने, ‘बाल्यकालका कुरा गर्दा मैले मान्छेका अनुभूतीहरु मात्रै सुनिनँ, तीनले त्यतिबेला सामना गरेका समाजको चित्र पनि उतार्ने प्रयास गरेँ । यसले पहिलेको समाज, संस्कृति, भूगोल, आर्थिक लगायत अवस्था बुझ्न सहयोग पुग्नेछ । यी पात्रले गरेका संघर्ष प्रेरणादायी हुनेछन् ।’
कार्यक्रममा पुस्तकका पात्रहरूसमेत सहभागी थिए । पुस्तक ईटर्नन पब्लिकेशनले प्रकाशन गरेको हो । न्याैपानेले केही हप्ता अघिमात्र बालचित्रकथा ट्यालेन्ट शो सार्वजनिक गरेका थिए । एम्बुसमा ६ वर्ष र कर्म उनका चर्चित कृति हुन् ।