काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए) जापानका पूर्वमहासचिव हुन् तथा हालका एनआरएनएमा आईसीसी सदस्य अनुज थापा ठगी अारोपमा पक्राउ परेका छन् ।
नेपालमा जापानी स्कुल सञ्चालन गर्ने नाममा एक जापानीलाई ६ करोडभन्दा बढी रकम ठगेको आरोपमा एनआरएनएको विश्व सम्मेलनको पूर्वसन्ध्यामा काठमाडौं प्रहरी परिसरको टोलीले थापालाई पक्राउ गरेको हो ।
पीडित जापानीले केही दिनअघि परिसरमा आएर उजुरी गरेपछि प्रहरीले थापाको खोजी गरेको थियो ।
नेपाल पर्यटन बोर्डको जापानस्थित प्रतिनिधिसमेत रहेका थापाले जापानी प्रोफेसर यामामोतो हिराकीलाई प्रलोभनमा पारी ठूलो रकम हात पारेका थिए । हिराकी लगानी गर्न तयार भएपछि उनीहरूले ०७१ चैतमा सोह्रखुट्टेमा एउटा घर किने । साथै, फोर्डको गाडी पनि लिए । थापाले सबै व्यक्तिगत नाममा दर्ता गरे । ०७२ सालको विनाशकारी भूकम्पले भवनमा क्षति पुर्याएको भन्दै त्यसपछि पनि तीन पटक हिराकीबाट पैसा लिएका थिए ।
‘सुरुमा दुवैले मिलेर काठमाडौंमा जापानी स्कुलको शाखा खोल्ने योजना बनाए । सल्लाहमै गाडी र घर पनि खरिद गरे । तर, अनुजले स्कुल सञ्चालन गर्ने विषयमा जापानीलाई दिनदिनै टार्दै गएको पाइएको छ । उनको ठग्ने नियत देखिन्छ’, काठमाडौं प्रहरी परिसरका मुद्दा शाखाका नायब उपरीक्षक (डीएसपी) बेल पाण्डेले भने ।