२१ मंसिर २०८१, शुक्रबार | Fri Dec 6 2024

तिहारमा देउसी भैलो कार्यक्रमबाट आर्थिक संकलन


१३ कार्तिक २०७४, सोमबार  

0
Shares

– मच्छे गुरुङ / न्युयोर्क

नेपालबाट टाढा अमेरिकामा पनि नेपाली समुदायले नेपाली चाडपर्वलाई उत्साहपुर्बक मनाउँदै आएका छन् । चाडबाडको तिथीमितीमा केहि अघि पछि गरेर नै किन नहोस् अहिलेको पुस्ताले प्रत्येक चाडपर्बलाई मनाउँछन्; आपस्तमा मिलेर रमाईलो गर्छन् । यसै परिप्रेक्षमा यसपालीको तिहारमा न्युयोर्क स्थित केहि सँघ सँस्थाले देउँसी भैलोको आयोजना गरेका थिए ।

नेपाल आदिवासी जनजाति महिला महासंघ अमेरिका (फिओना)   

नेपाल आदिवासी जनजाति महिला महासंघ अमेरिका (फिओना)ले न्यूयोर्कको ज्याक्सन हाइटमा देउसी भैली कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रमको उदघाटन नेपाल आदिवासी जनजाति महासंघ, अमेरिकाका उपाध्यक्ष विनोद पोमोले दिप प्रज्वलन गरेर गरे । महासंघका उपाध्यक्ष इन्दिरा चोङवाङले उपस्थित सबैलाई स्वागत गर्दै महासंघको उद्देश्यको बारेमा जानकारी दिईन् ।

महासंघले बर्षेनी गर्दै आएको देउसी भैलो कार्यकम मार्फत नेपाली आदिवासी जनजाति दिदी बहिनीहरु एकै ठाउँमा भेला भएर आफनो मौलिक संस्कृति प्रस्तुती गर्दछन् । उनीहरुले विभिन्न संस्कृति झल्कने गीत गाउँनाको साथै नृत्य गरेर आफनो सँस्कृती जगेर्नाको लागि योगदान गरेका थिए । उक्त देउसी भैलो कार्यक्रमबाट महासंघको लागि एक हजार एक सय अठार डलर आर्थिक संकलन गरेको छ ।

नेपाली आदिवासी महिलाहरुको शशक्तिकरण, महिला अधिकारको सुनिश्चित र आपसी सहयोग जुटाउँने कार्यका लागि स्थापित महासंघले हामी एकता हुन्छौ र सगै रहेर केही फरक गर्छौ भन्ने मान्यताका साथ काम गर्दै आएको छ ।

नेपालमा समेत काम गर्ने ‘सँगसगै’ नामक संस्थाका अध्यक्ष नताशा ओज्नियाकले अमेरिकामा रहेर पनि नेपाली आदिवासी महिलाहरु एउटै मञ्चमा पाउँदा खुशी ब्यक्त गरिन् । कार्यक्रममा पहुनाको रुपमा उपस्थित ओज्नियाकले जहाँ रहे पनि उनीहरु बिचमा देखिने एकताको खुलेर प्रशंसा गरेकी थिईन् ।

यसै बिच महिला महासंघका सल्लाहकार पूर्व डिआइजी पार्वती थापा मगर, नृत्य निर्देशकद्वय संगीता मुखिया छोचुन र विजय नकर्मी साथै हेभन्ली पाथका अध्यक्ष सुकु राईलाई सम्मान गरिए । महासंघका सचिव बन्दना राइले तिहार, बलिहाङ र छठ पर्वको शुभकामना दिदै भैली कार्यक्रम चलाईन् । महासंघका अध्यक्ष संगीनी रानाले कार्यक्रममा उपस्थित सबै महिलाहरुलाई आफनो पहिचान र अस्तित्वका लागि जिम्मेवार हुन आव्हान गर्दै कार्यक्रमको समापन गरेकी थिईन् ।

तमु परिवार न्यूयोर्क

तमु परिवार न्यूयोर्कले पनि यसपाली तिहारको अवसरमा देउसी भैलो कार्यक्रम आयोजना गरे । न्युयोर्क आसपासमा रहेका दाजुभाइ दिदीबहिनीहरु एकै ठाउमा भेला भएर देउसी भैलो खेल्दा नेपाल पुगेको अनुभूती रहोस् भन्नका लागि तमु परिवारले देउसी भैली आयोजना गरेको हो ।

कार्यक्रममा तमु परिवारका अध्यक्ष डम्मरजंग गुरुङका साथै उपाध्यक्ष मनिता देवी गुरुङ, नेपालका पूर्व डिआइजी पार्वती थापा मगर, चित्र बहादुर कोने गुरुङ लगायतले तिहारको शुभकामना राखेका थिए । परिवारका सचिव जेवी गुरुङका साथमा ठम्मरसिङ्ग गुरुङ र चन्दा गुरुङद्वारा सञ्चालित कार्यक्रममा ज्योति गुरुङ, जीत गुरुङ, कमला गुरुङ र जेवी गुरुङले गीत गाएर उपस्थित सबैलाई मनोरञ्जन गराएका थिए । यसैगरी तृष्णा बुढाथोकी, आशा ह्योल्मो, कुशाङ्ग ह्योल्मोले नृत्य प्रस्तुत गरेका थिए ।

उक्त देउसी भैलो कार्यक्रममा लगभग चार हजार पाँच सय डलर आर्थिक संकलन भएको तमु परिवारले जनाएको छ ।

हेल्प फर डेस्पेरेट एन्ड निडी पिपल (एचडीएनपी) इन्टरनेश्नल

हेल्प फर डेस्पेरेट एन्ड निडी पिपल (एचडीएनपी) इन्टरनेश्नलका लागि कलाकार अनु खड्काको आयोजनामा पनि ज्याक्सन हाईटको सत्य नारायण मन्दिरमा देउसी भैलो कार्यक्रम भएको थियो । लोकप्रिय गायक तिलक बम मल्ल, बिमल डाँगी लगायत बाँसुरीवादक राम सिंहको विशेष प्रस्तुती भएको उक्त देउसी भैलो कार्यक्रममा ममता र रमेशको आकर्षक नृत्यमा उपस्थित सबैले भरपुर मनोरञ्जन लिएका थिए ।

युवा लेखक राजन थपलियाको सभापतित्वमा सम्पन्न कार्यक्रममा जनसम्पर्क मञ्च न्युयोर्क च्याप्टरका अध्यक्ष रोशन ढुङ्गाना लगायत ‘संगसंगै’ नामक सामजिक संस्थाका अध्यक्ष नताशा ओज्नियाक अतिथी रहेका थिए । ओज्नियाकले नेपालमा आफ्नो समुहले खेल्दै गरेको देउसी भैली कार्यक्रममा उपस्थित हुन नपाए पनि न्युयोर्कमा नेपालीहरुसँग तिहारमा रमाउँना पाउँदा खुशी ब्यक्त गरेकी थिईन् । उनको संस्था सँगसंगैले बिशेषता नेपालमा भुकम्प पिडीतको सहयोगार्थ काम गरेको बताईन् । उनले नेपालीहरु जहाँ रहे पनि आफ्नो मौलिक चाडपर्वमा देखिने एकताको खुलेर प्रशंसा गरिन् ।

२०१२ बाट सञ्चालनमा रहेको हेल्प फर डेस्पेरेट एन्ड निडी पिपल (एचडीएनपी) इन्टरनेस्नलले बिशेषता अनाथ बालबालिकाहरुलाई शिक्षा एवं स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएको कार्यक्रमका संचालक तथा आयोजक अनु खड्काले बताईन् । संस्थाले तीन तीन महिनामा रक्तदान आयोजना गरी अहिले सम्ममा लगभग चार हजार जनालाई सहयोग पुराएको खड्काले खुलाईन् । टेक्सासमा मुख्य कार्यालय रहेको संस्थामा खड्का सञ्चार तथा जनसम्पर्क प्रमुख हुन् । उनका अनुसार यो देउसी भैली कार्यक्रमबाट लगभग चार हजार डलर आर्थिक संकलन भएको छ ।

लोकप्रिय गायक तिलक बम मल्ल प्रस्तुती दिदै ।

 

 

 

 

प्रकाशित मिति : १३ कार्तिक २०७४, सोमबार  ५ : १० बजे