१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

साहित्यकार फूलमान वललाई एक लाख राशिको ‘प्रतिभा पुरस्कार’


२० कार्तिक २०७४, सोमबार  

0
Shares

कात्तिक । बेलायतमा रहेको साहित्यिक संस्था नेपाली प्रतिभा प्रतिष्ठानले यसवर्षको प्रतिभा पुरस्कार पत्रकार एवं साहित्यकार फूलमान वललाई प्रदान गर्ने घोषणा गरेको छ । पुरस्कारमा एक लाख नगद र ताम्रपत्र रहने प्रतिष्ठानले जनाएको छ ।

शनिबार बेलायतको हाइवेकममा प्रतिष्ठानकी नवनिर्वाचित अध्यक्ष दीपा लिम्बु राईको अध्यक्षतामा बसेको प्रतिष्ठानको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले वरिष्ठ स्रष्टा वेणु आचार्यलाई ‘प्रतिभा सम्मान’ प्रदान गर्ने निर्णय गरेका छ । सम्मानमा २० हजार नगद, ताम्रपत्र र दोसल्ला रहनेछ ।
आचार्यका ‘असमान यी धर्तीका तस्विरहरु’ र ‘एक चोक्टा इतिहास’ गरी दुई कविता र एक मुक्तक संग्रह प्रकाशित छन् । उनले ‘छायाँ’, ‘प्रेरणा’, ‘जनजागृति’, ‘कोसीका कोसेली’जस्ता साहित्यिक संकलन एवं पत्रिकाको सम्पादनसमेत गरेका छन् । उनी धरानका वम देवान, कृष्ण पाख्रिनहरुसँग समाज परिवर्तनका लागि साहित्यिक अभियान सन्चालन गर्ने पुराना स्रष्टा हुन् । उनलाई नेपाली कविताका क्षेत्रमा विशिष्ट योगदान र्पुयाएवापत ‘प्रतिभा सम्मान’ प्रदान गरिने भएको हो ।

त्यसैगरी कान्तिपुर दैनिकका पत्रकार वलका ‘काजोल खातुन’ कथासङ्ग्रह, ‘महाभारतकी मैच्याङ’ कवितासङ्ग्रह र ‘म्हेन्दोमाया’ नाटक प्रकाशित छन् भने उनले दुई वृत्तचित्रका अतिरिक्त ‘नीरफूल’ नामक चलचित्र लेखन तथा निर्देशन गरेका छन् । कविता, कथा, नाटक तथा चलचित्र आदिका माध्यमबाट नेपाली समाजको रुपान्तरणमा उल्लेखनीय योगदान र्पुयाएवापत श्रष्टा वललाई ‘प्रतिभा पुरस्कार’ प्रदान गरिने भएको हो ।

सम्मान तथा पुरस्कार जनवरी अन्तिम साता काठमाडौंमा एक समारोह आयोजना गरी प्रदान गरिने प्रतिष्ठानका कोषाध्यक्ष देवेन्द्र खेरेसले जानकारी दिए ।

सन् २००८ मा बेलायतमा स्थापित यस संस्थाबाट हालसम्म स्व. इश्वर मानन्धर, स्व. अम्बर गुरुङ, जीवी लुगुन, भक्तराज आचार्य, प्रा.डा. गोविन्दराज भट्टराई, बुंद राना, टेकवीर मुखिया, प्रद्युम्न श्रेष्ठ सिक्किम र भागीरथी श्रेष्ठ सम्मानित भइसकेका छन् । यसै गरी ‘प्रतिभा पुरस्कार’बाट यसअघि नवीन विभास, कुवेर राई, उपेन्द्र सुब्बा, श्रवण मुकारुङ, मोमिला जोशी, राजकुमार दिक्पाल, भूपाल राई, बीबी अनुरागी र टीका चाम्लिङ पुरस्कृत भइसकेका छन् ।

 

प्रकाशित मिति : २० कार्तिक २०७४, सोमबार  ८ : ०५ बजे