नुरुमान राई/न्युयोर्क
न्युयोर्कमा नृत्य तथा योगा एक साथ हुनेगरी प्रशिक्षण केन्द्रको स्थापना पहिलो पटक भएको छ ।
‘नेपाली डान्स युएसए’ नामक समूहले नोभेम्वर १ मा विशेष समारोहको आयोजना गरी ‘नेपाली डान्स युएसए’ नाम कै प्रशिक्षण केन्द्रको औपचारिक सुरूआत गरेको हो । न्युयोर्कको चर्चित नृत्याङगना तथा गायिका यसोदा खालिङ राईको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । प्रमुख अतिथि यसोदा खालिङ राईले प्रशिक्षण केन्द्रको सुभारम्भ स्वरुप रिबन काट्दै भन्नुभयो ‘अमेरिकामा नृत्य तथा योगा कला प्रशिक्षण केन्द्रको संचालन हुदा अमेरिकामा नेपाली कलाकारिताको एउटा आयाम थपियो’ ।
प्रशिक्षण केन्द्रमा नृत्य तथा योगा दुबैको प्रमुख प्रशिक्षक रमेस सुनुवार राई रहने समुहले बताएको छ । नेपालमा रहदा व्यवसायिक नृत्य तथा योगा प्रशिक्षक रहेका राईले हप्ताको सातै दिन कक्षाहरू संचालन हुने बताए । उनले थपे सनिबार र आइतबार भने ‘योगाको मात्र कक्षाहरु हुनेछन र नृत्यमा नयाँ तथा पुराना सबै खाले प्रशिक्षण दिनेछौ त्यसैले अरु भन्दा फरक पनि छौ ।
समुहकी एक सदस्य ममता खालिङ राईले ज्याक्सन हाईटको ३७-६६, ७२ स्ट्रिटमा प्रशिक्षण केन्द्र रहने अनि आइतबार बिहान ७-९ बजे सम्म र सनिबार बेलुकी ९-१० बजे सम्म योगा प्रशिक्षण हुने तथा अन्य सबै दिनहरुमा बेलुकीको ९-१० बजे सम्म नृत्यको मात्रै प्रशिक्षण हुने बताईन ।
युटुवमा ‘नेपाली डान्स युएसए’ नामक च्यानल स्थापना गरी कभर नृत्यहरु गर्दै आएको यस समुहले आफ्नै प्रशिक्षण केन्द्र खोलेको हो । संचालक समुहले नेपाली समुदायको राम्रो साथ पाउने र कलाकारितामा अन्य कामहरु गर्ने हौसला मिल्ने बिश्वास लिएको छ ।