दार्चुला । नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावपछि वाम गठबन्धन समाप्त हुने दाबी गरेका छन् ।
नेपाली काँग्रेस दार्चुलाद्वारा सदरमुकाम खलंगामा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य बडूले एमाले र माओवादी मिलेर बनेको वाम गठबन्धनको कुनै नाम नभएको भन्दै उनले चुनावपछि गठबन्धन बिलाएर जाने ठोकुवा गरेका हुन् ।
“वामपन्थीको षडयन्त्र देखेर नेपाली जनता सशंकित भएका छन्,” उनले भने । संविधानको पूर्ण रूपमा कार्यान्वयन र रक्षाका लागि काँग्रेसलाई मतदान गर्नुपर्ने नेता बडूले आग्रह गरे ।
“लोकतन्त्रको रक्षाका लागि कांग्रेसको जीत आवश्यक छ,” उनले भने । कम्युनिष्ट अधिनायकवाद लाद्ने उद्देश्यका साथ एमाले र माओवादी केन्द्रबीच वाम गठबन्धन भएको बडुले आरोप लगाए । संविधानसभाबाट जारी भएको संविधानलाई कुल्चने मनसायका साथ वाम गठबन्धन बनेको नेता बडूको भनाइ थियो ।
२३ कार्तिक २०७४, बिहिबार
0
Shares