२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

सातौं एभरेष्ट ट्रायल अल्टर रेस सुरु


२६ कार्तिक २०७४, आइतबार  

0
Shares

अर्जुन तामाङ / काठमाडौं

सातौं एभरेष्ट ट्रायल अल्टर रेस अन्तराष्ट्रिय प्रतियोगिता गत बिहिबारबाट सुरु भएको छ । दोलखाको पर्यटकीय नगरी जिरीबाट सुरु भएको अल्टर रेस सगरमाथाको वेस क्याम्पसम्म रहने छ ।

एभरेष्ट ट्रायल अल्टर रेस प्रतियोगितामा नेपाल सहित १३ राष्ट्रका ४१ जना अन्तराष्ट्रिय धावकहरु सहभागी भएको आयोजक अन्नपूर्ण ट्रेक्स एण्ड एक्सपिडिसनले जनाएको छ । धावकहरुले प्रथम सगरमाथा आरोही एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाको पदमार्ग भएर एभरेष्ट अल्टर रेस दौड पुरा गर्नेछन् ।

प्रथम सगरमाथा आरोही हिलारी र शेर्पाको पदमार्गलाई अन्तराष्ट्रिय रुपमा प्रचार प्रसार गर्ने उदेश्य सहित एभरेष्ट ट्रायल अल्टर रेस गर्दै आएको अन्नपूर्ण ट्रेक्स एण्ड एक्सपिडिसनका प्रबन्ध निर्देशक कामी शेर्पाले जानकारी दिए । ‘दोलखाको जिरीबाट सुरु भएको प्रतियोगिता रामेछापको बाम्ति भण्डार, सोलखुम्बुको गोली, पिके डाँडा, नाम्चे, पाङ्बोचे पुग्ने छ । यसपछि फोर्चे सम्म पुगी पुनः लुक्लाको त्याङ्बोचे आएर कार्तिक २९ गते म्याराथन सकिने म्याराथन तालिका छ,‘ उनले भने,‘यसका लागि स्थानीय निकाय, धावक, पर्यटन व्यवसायीहरुले साथ दिएको छ । पछिल्लो समय ओझेलमा पर्दै गएको यस रुटलाई प्रबर्धन गर्न पनि म्याराथन दौड आयोजना गरेको हो ।’

एभरेष्ट ट्रायल अल्टर रेस अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी धावकहरु । तस्विर सौजन्यः कामि शेर्पा ।

‘साहसिक पर्यटकीय खेल अल्टर रेस मार्फत नेपालमा पर्यटन भित्र्याउने उदेश्य हो । ‘अल्टर रेस’ खेल्नका लागि नेपाल उपयुक्त छ । यहाँको डाडाकाँडा, उकालो ओरालो, खोला, नाला चाहिन्छ । यसकारण नेपाल प्रशिध्द छ’, आफ्नो भनाईमा शेर्पाले थपे ।

उनका अनुसार सहभागि धावक मध्ये ९ जना महिला र ३२ जना पुरुष रहेका छन् । प्रतियोगितामा सबैभन्दा बढि स्पेनका १४ जना धावक सहभागि छन् । बेलायतका नौ जना, ईटालीका चार जना रहेका छन् । यस्तै, नेपाल, पोर्चुगल र आयरल्याण्डका २ – २ जना धावक सहभागि रहेका छन् ।यसैगरी, मेक्सिको, कोलम्विया, फ्रान्स, अमेरिका, क्यानडा, स्वीडेन, नर्वे र अर्जेन्टिनाका १ – १ जना धावक रहेको आयोजकले जनाएको छ  ।

नेपालको तर्फबाट सोलुखुम्वुको महाकुलुङ गाउँपालिका ५ का २६ वर्षीय सुमन कुलुङ र खुम्वु पासाङल्हामु गाउँपालिका ९ की २९ वर्षीया छेची शेर्पा सहभागि छन् । शेर्पा ६ महिना अघि कञ्चनजंघादेखि चिनको सिमाना हिल्सा सम्मको १८ सय किलोमिटर दुरी ४५ दिनमा पुरा गर्दै दोस्रो हुन सफल धावक भएका थिए ।

दौडमा स्पेनका विश्व बिख्यात धावक लुईस अलबेट्रो पनि सहभागि रहेको शेर्पाले बताएका छन् ।

एभरेष्ट ट्रायल रेस अन्तराष्ट्रिय म्याराथन दौड प्रतियोगितामा सहभागी महिला र पुरुष धावकहरुको छुटा छुटै मुल्याँकन हुने छ । यस म्यारथनको प्रथम हुने पुरुष र महिला धावकहरुले जनही एक लाख ५० हजार रुपैया पुरस्कार पाउँने छन् । यस्तै, द्वीतिय हुनेले एक लाख र तृतीय हुनेले ५० हजार नगद सहित मेडल र ट्रफी पाउनेछन् ।

एभरेष्ट म्याराथन दौड प्रतियोगिता सन् २०११ देखि सुरु भएको हो । हरेक वर्ष हुने प्रतियोगितामा राष्ट्रिय तथा अन्तराष्ट्रिय धावकहरु सहभागि हुने क्रम  वर्षेनी बृध्दी हुँदै गएको आयोजकले जनाएको छ ।

 

प्रकाशित मिति : २६ कार्तिक २०७४, आइतबार  ३ : २६ बजे