अर्जुन तामाङ / काठमाडौं
पर्यटकीय क्षेत्र बन्दिपुरमा जब युवा गायक विजय रुम्बा सोल्टीनिसँग देखिन्छ, तब पर्फेक्ट जोडिको अनुभूति गराउँछ । वैदेशिक रोजगारबाट फर्किएपछि गाउँको सोल्टीनिसँग नयाँ जीवन सुरुवात गर्ने तयारीमा हुन्छ, तर सोल्टीनिले लाहुरेसँग घरजम गर्न लागेका थाहा पाएपछि उनी बन्दिपुर पुग्छन् । अनि सुरु हन्छ, ‘सिन्कीको अचार’ ।
कुरा केही महिना अघिको हो । नाच्न र नचाउन उत्तिकै पर्फेक्ट कलाकारको रुपमा स्थापित रुम्बा अचानक रिश्मा गुरुङसँग बन्दीपुर भेटिए । उनी रिश्मा गुरुङसँग विवाह गर्ने सोचका साथ त्यहाँ पुगेका थिए, तर क्यामराको रिलमा । उनीहरुले ‘सिन्कीको अचार’ म्युजिक भिडियो त्यहाँ छायाङ्कन गरे । सोही म्युजिक भिडियो गत शुक्रबार सार्वजनिक गरिएको छ । यस म्युजिक भिडियोमा रुम्बा आफैले अभिनय गरेका छन् । चलचित्र ‘कबड्डी’मा सोल्टीनीको भूमिकामा सशक्त अभिनय गरेर चर्चा बटुलेकी रिश्मासँग रुम्बाको यो पहिलो म्युजिक भिडियो हो ।
म्युजिक भिडियोमा विकास सुबेदीको निर्देशन छ । डिपि खनालका शब्द तथा सुबाश भुषालको संगीत रहेको गीतका एरेन्जर उदय राज पौडेल हुन् । मौलिक भाषा, कला, संस्कृति र पहिचान जोडिएको यस म्युजिकको भिडियो सम्पादन अनिल कुमार मानन्धरले गरेका छन् । म्युजिक भिडियोमा मादल, लोक सस्कृति, तामाङ र गुरुङ पोषाक बीचको फ्युजनलाई आकर्षक रुपमा प्रस्तुत गरिएको छ ।