आरके जिम्बा/ललितपुर
ललितपुर क्षेत्र नम्बर एक तामाङ बाहुल्य रहेको क्षेत्र हो । यही क्षेत्रबाट नेपाली कांग्रेसले प्रदेश सभाका लागि समानुपातिकमा सानुकान्छा मोक्तानलाई उम्मेदवार तोकेको छ ।
पार्टीले तोकेको जिम्मेवारी पुरा गर्न र कांग्रेसको पक्षमा मत तान्न मोक्तान यतिबेला आफ्नो एजेन्डा लिएर घरदैलो गरिरहेका छन् । फुल्चोकी, ठूला दुर्लुङ कालेश्वर, गुप्तेश्वर, दलचोकी, बिमिरेजस्ता गाउँलाई समृद्ध बनाउने प्रतिबद्धता जाहेर गर्दै मोक्तानले कांग्रेसलाई जिताउन अनुरोध गरेका छन् ।
ललितपुर क्षेत्र नम्बर एक राजधानीसँग जोडिएपनि हरेक सुविधाका हिसाबमा पिछडिएको र यस क्षेत्रका जनताको जीवनस्तर अझै माथि उठ्न नसकेकोले आफु उम्मेदवार बनेको मोक्तानले बताए । उनले भने, ‘यस क्षेत्रबाट वर्षमान पुन, सुशीला नेपाल, मीठाराम बजगाईंजस्ता कम्युनिस्टहरुले जिते, तर यहाँको जीवनस्तर कहिल्यै माथि उठ्न दिइएन । त्यसैले अब कांग्रेसलाई भोट दिनु एकमात्र विकल्प रह्यो, विकास कांग्रेसले गर्छ ।’
यातायातका हिसाबमा पिछडिएको र पर्यटनको प्रचर सम्भावना रहेको यस क्षेत्रमा विकासको लहर फैलाउने आफ्नो योजना रहेको मोक्तानले बताए । ‘यस क्षेत्रलाई सम्बृद्ध बनाउने जिम्मा दिएर पार्टीले टिकट दिएर पठाएको छ । मैले जिम्मेवारी पुरा गर्ने अठोट लिएको छु,’ उनी भन्छ्न ।
नेपाल तामाङ युवा घेदुङमार्फत समाजसेवामा लागेका मोक्तानले नेपाल तामाङ युवा घेदुङको जिल्ला अध्यक्षको सफलतापूर्वक कार्यकाल पूरा गरिसकेका छन् । यस क्षेत्रमा प्रतिनिधि सभाका लागि कांग्रेसबाट अर्थ राज्यमन्त्री उदय शमशेर राणा र वाम गठबन्धनबाट पूर्व डिआइजी नवराज सिलवाल प्रतिस्पर्धामा छन् ।