एभरेस्ट टाइम्स/न्युयोर्क
सोलुखुम्बुबाट न्युयोर्कमा बसोबास गर्दै आइरहेका नेपाली कांग्रेस समर्थकहरुले न्युयोर्कमा भेला आयोजना गरेर कांग्रेसलाई जिताउन अपिल गरेका छन् । उक्त भेलाले जिल्लाको विकासका लागि संघीय निर्वाचनमा नेपाली कंग्रेसका उम्मेदवार आङगेलु शेर्पा, बलबहादुर केसी र प्रकाशसिंह कार्कीलाई सघाउन अपिल गरेका हुन् ।
कार्यक्रममा जन सम्पर्क समितिका पूर्व उपाध्यक्ष तथा सल्लाहकार मिङमा शेर्पाले पार्टी मात्र होइन लोकतन्त्र र प्रजातन्त्र स्थापनासँगै सोलुखुम्बु जिल्लाको हितमा आङगेलु शेर्पा र बलबहादुर केसीको योगदानको चर्चा गरे । जिल्लाको हितमा उनीहरुले दिएको योगदान सम्झेर पनि हामी सोलुखुम्बुबासीले यतिबेला सहयोग गर्न शेर्पाले आग्रह गरेका थिए । कार्यक्रममा महासमिति सदस्य तथा जनसम्पर्क समितिका पूर्व अधिवेशन संयोजक विष्णु सुवेदीले विश्वमा चर्चित सोलुखुम्बु जिल्लाको कांग्रेसको नेताहरुले हरेक राजनीतिक आन्दोलनलाई दिएको त्याग र योगदानलाई सबैले सम्झनु पर्ने बताए ।
आर्थिक, सामाजिक र राजनीतिक रुपमा अग्रस्थानमा रहेको सोलुखुम्बुमा क्रियाशिल कांग्रेसको नेताहरुलाई यतिखेरसहयोग गर्न सबैलाई आग्रह गरे । उक्त अवसरमा लुम्बिनी विकास कोषका पूर्व सदस्य सचिव, नेपाल शिक्षक संघका केन्द्रीय उपाध्यक्ष एवं जनसम्पर्क समिति अमेरिकाका सल्लाहकार आङदावा शेर्पाले सोलुखुम्बुको हितमा नेपाली कांग्रेसको नेता बलबहादुर केसीले सडकमार्ग पु¥याउने, विश्वविद्यालय खोल्ने, पहिलो महिला सगरमाथा आरोही पासाङल्हमुलाइ शेर्पा राष्ट्रिय विभुती घोषणा, बौद्धधर्म गुरु ठुल्सीक रिम्पोचेलाई मानार्थ नागरिकता दिने लगायतका महत्वपूर्ण कार्यहरु गरेकोले केसीलाई सहयोग गर्नुपर्ने धारण राखेका थिए । स्थानीय थकाली किचन रेस्टुरेन्टमा आयोजना गरेको कार्यक्रममा नेपाली जनसम्पर्क समितिका पूर्व सचिव फुवा शेर्पा, जनसम्पर्क समिति न्युयोर्क च्याप्टरका उपाध्यक्ष अमर तामाङ, जनसम्पर्क समितिका सदस्य प्रमोद सिटौला, सोलुखुम्बु सल्लेरी गाविसका पूर्व अध्यक्ष आरपी लामा, जनसम्पर्क समितिका केन्द्रीय कोषाध्यक्ष विजय थुलङले मन्तव्य दिएका थिए । उक्त भेलामा सोलुखुम्बुका विभिन्न गाविसका प्रतिनिधिहरुको उपस्थिति थियो ।
को को भिड्दैछन् सोलुमा ?
प्रतिनिधि सभाका लागि लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका निवर्तमान सांसद बलबहादुर केसी र वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका हेमकुमार राई उम्मेदवार बनेका छन् ।
प्रदेशसभा चुनावमा भने वाम गठबन्धनबाट एमालेका उत्तम बस्नेत प्रदेशसभा क मा र बुद्धिकुमार राजभण्डारी ख मा तथा कांग्रेसका प्रकाशसिंह कार्की क मा र आङगेलु शेर्पा ख मा उम्मेदवार छन् । संविधानसभा अन्तर्गत २०६४ मा माओवादीले र २०७० सालमा कांग्रेसले जितेको सोलुखुम्बुमा यसपटकको कडा टक्कर हुने देखिन्छ ।
जिल्लाको तिगंलाबासीले आफूहरुको माग पूरा नभएको भन्दै स्थानीय तहको चुनाव पनि बहिष्कार गरेका थिए भने अबको चुनावमा पनि भाग नलिने बताएका छन् । प्रतिनिधिसभाका लागि एउटा मात्र निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुमा ६९ हजार ४ सय २२ मतदाता रहेका छन् ।
स्थानीय तहको चुनावको नतिजा केलाउने हो भने कुल ८ वटा स्थानीय तह रहेको सोलुखुम्बुमा वाम गठबन्धनमा आवद्ध दल ७ वटा स्थानीय तहमा विजयी भएका छन् ।
सोलुखुम्बुमा वाम गठबन्धनले २१ हजार ६ सय ९९ मत पाएको थियो भने नेपाली कांग्रेसले १२ हजार ७ सय १८ मत पाएको थियो । यस आधारमा यहाँ वाम गठबन्धनको मत कांग्रेसले पाएको भन्दा ८ हजार ९ सय ८१ भन्दा धेरै छ । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकामा मात्रै नेपाली कांग्रेस २७५१ मत ल्याएर स्थानीय चुनावमा विजयी भएको थियो ।