नेपाल पत्रकार महासंघको पुर्व अध्यक्ष तथा फि्रडम फोरमका अध्यक्ष तारानाथ दाहालले नेपालमा संवैधानिक रुपमा प्रेस स्वतन्त्रता र अभिव्यत्तिको स्वतन्त्रता सुनिश्चित गरिए पनि ब्यवहारिक रुपमा अझै पनि प्रेस स्वतन्त्रतामाथि अवरोध आउने गरेको बताए । नेपाल अमेरिका पत्रकार संघ -नेजा) ले वासिङटनडिसिमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा महासंघको पुर्व अध्यक्ष दाहालले नेपालमा प्रेश स्वतन्त्रको लागी नेपाली पत्रकारहरुले अझै संघर्षरत रहेको बताए । मुलुकमा संविधानको भावना अनुरुप कानूनहरु बनि नसकेका र अझै पनि धेरै ऐन कानूनको ड्राफट समेत नभएकोले संचार माथि राजनीतिक, आर्थिक र आचारसंहिता पालनाका क्षेत्रमा धेरै समस्या उत्पन्न भइरहेको उनले बताए ।
हाल अमेरिका भ्रमणमा रहेका पुर्व अध्यक्ष दाहालले नेजाले डायस्पोराका समुदायलाई सुसूचित गर्ने र नेपालसंग नेपालीहरुलाई जोड्ने पूलको रुपमा काम गर्नु पर्ने सुझाव दिंदै हाल नेपालमा नेपाली पत्रकारहरुको सुरक्षामा समस्या खडा हुन थालेकोले चनाखो हुनु पर्ने तर सही कुरा लेख्न र बोल्न छोड्न नहुने कुरा बताए । ‘ अघोषित रुपमा राज्यले गर्ने सेन्सरशिपसंग लडिरहेका नेपाली पत्रकारहरु यदाकदा विज्ञापन, राजनीति र त्रासको प्रभावले सूचना प्रवाहमा सेन्सर गरिरहेको छ ‘ दाहालले भने-‘ नेपाली समाज स्वतन्त्रताको अनुभव गर्न बानि परिसकेको हुंदा अबको दिनमा कसैले पनि प्रेस तथा नागरिक वाक स्वतन्त्रता कुण्ढित गर्न नसक्ने अवस्था आउन थालेको छ ‘ ।
नेपालमा च्याउ उम्रे झैं संचार माध्यमहरु खुलेको, संसारै भरि अनेकथरि अनलाइन पत्रिकाहरु खुलेको र संचारले विश्वसनीयता गुमाउदै गएको भन्ने सवालको जवाफमा दाहालले धेरै संचार माध्यम हुनु समाज विकासको लागि राम्रो कुरा भएको तर कस्ता सामग्री पढ्ने र कस्ता नपढ्ने भन्ने निर्णय अव स्वयं पाठक, उपभोक्ताहरुले गर्नु पर्ने समय आएको धारणा ब्यक्त गरियो । अन्तरक्रिया कार्यक्रममा वरिष्ठ पत्रकार तथा नेजाका सल्लाहकार योगेश उपाध्यायले प्रवासको संचारले नेपाली भाषा र संस्कृतिको विकास र विस्तारमा सहभागी हुनु पर्ने विचार व्यक्त गर्नु भयो । नेजा उपाध्यक्ष गुणराज लुइटेलले मोडरेट गरेको कार्यक्रममा नेजा अध्यक्ष भोला आचार्यले पत्रकार तारानाथ दाहालको पत्रकारिता र पत्रकारका संस्था संचालनका अनुभवले नेजालाई सिक्न र विस्तारित हुन अझ मद्धत मिलेको कुरा बताउदै डायस्पोरा र स्वदेश दुवैलाई जोड्न नेजाले काम गरिरहेको धारणा ब्यक्त गरेका थिए ।
कार्यक्रममा अमेरिका भ्रमणमा रहेका राससका पत्रकार कृष्ण सापकोटा, नेजाका संस्थापक गिरिश पोखरेल, पत्रकारहरु तरण पौडेल, अंकुश नेपाल, शतिश चापागाई, निदेश अधिकारी, केशर कार्की, सुनिलमणि दाहाल, श्रृजना उप्रेती, कृष्ण धराबासी, शारदा सिलवाल, विष्णु शर्मा, बाबुराम खरेल लगायत नेजा सदस्य तथा स्थानीय नेपाली समुदायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । नव स्थापित संचार संस्था ग्लोवल नेपाल मिडिया तथा यसका पार्टनरहरु इनास र आवर इजी सलुसनले अन्तरक्रियाको लागि नेजालाई स्थान उपलव्ध गराएका थिए । डिसिको अन्तरक्रियापछि महासंघका पुर्व अध्यक्ष दाहालले न्युयोर्कमा रहेका सञ्चारकर्मिहरुसग पनि भेटघाट गरेका थिए ।