न्युयोर्क । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवं फ्रिडम फोरमका अध्यक्ष तारानाथ दाहालले नेपालमा संवैधानिक रुपमा प्रेस स्वतन्त्रता र अभिव्यक्तिको स्वतन्त्रता सुनिश्चित गरिए पनि व्यवहारिक रुपमा अझै पनि प्रेस स्वतन्त्रतामाथि अवरोध आउने गरेको बताएका छन् ।
नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले वासिङटन डिसीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा दाहालले नेपालमा प्रेस स्वतन्त्रताका लागि नेपाली पत्रकार अझै संघर्षरत रहेको बताए । मुलुकमा संविधानको भावना अनुरुप कानूनहरु बनि नसकेका र अझै पनि धेरै ऐन कानूनको ड्राझ्टसमेत नभएकोले संचारमाथि राजनीतिक, आर्थिक र आचारसंहिता पालनाका क्षेत्रमा धेरै समस्या उत्पन्न भइरहेको उनको धारणा थियो ।
नेजाले डायस्पोराका समुदायलाई सुसूचित गर्ने र नेपालसँग नेपालीहरुलाई जोड्ने पूलको रुपमा काम गर्नुपर्ने सुझाव दिंदै दाहालले हाल नेपालमा पत्रकारको सुरक्षामा समस्या खडा हुन थालेकोले चनाखो हुनु पर्ने तर सही कुरा लेख्न र बोल्न छाड्न नहुने बताए । ‘अघोषित रुपमा राज्यले गर्ने सेन्सरसिपसंग लडिरहेका नेपाली पत्रकारहरु यदाकदा विज्ञापन, राजनीति र त्रासको प्रभावले सूचना प्रवाहमा सेन्सर गरिरहेका छन्,’ दाहालले भने, ‘नेपाली समाज स्वतन्त्रताको अनुभव गर्न बानी परिसकेको हुँदा अबको दिनमा कसैले पनि प्रेस तथा नागरिक वाक स्वतन्त्रता कुण्ठित गर्न नसक्ने अवस्था आउन थालेको छ ।’ नेपालमा च्याउ उम्रे झैं संचार माध्यमहरु खुलेको, संसारैभर अनेकथरी अनलाइन पत्रिकाहरु खुलेको र संचारले विश्वसनीयता गुमाउदै गएको भन्ने सवालको जवाफमा दाहालले धेरै संचार माध्यम हुनु समाज विकासको लागि राम्रो कुरा भएको तर कस्ता सामग्री पढ्ने र कस्ता नपढ्ने भन्ने निर्णय अब स्वयं पाठक, उपभोक्ताहरुले गर्नु पर्ने सुझाव दिए ।
अन्तरक्रिया कार्यक्रममा वरिष्ठ पत्रकार तथा नेजाका सल्लाहकार योगेश उपाध्यायले प्रवासको संचारले नेपाली भाषा र संस्कृतिको विकास र विस्तारमा सहभागी हुनु पर्ने विचार व्यक्त गरे । नेजा उपाध्यक्ष गुणराज लुइटेलले मोडरेट गरेको कार्यक्रममा नेजा अध्यक्ष भोला आचार्यले पत्रकार दाहालको पत्रकारिता र पत्रकारका संस्था संचालनका अनुभवले नेजालाई सिक्न र विस्तारित हुन अझ मद्दत मिलेको उल्लेख गर्दै डायस्पोरा र स्वदेश दुवैलाई जोड्न नेजाले काम गरिरहेको धारणा राखेका थिए ।
कार्यक्रममा अमेरिका भ्रमणमा रहेका राससका पत्रकार कृष्ण सापकोटा, नेजाका संस्थापक गिरिश पोखरेल, पत्रकारहरु तरण पौडेल, अंकुश नेपाल, शतिश चापागाई, निदेश अधिकारी, केशर कार्की, सुनिलमणि दाहाल, श्रृजना उप्रेती, कृष्ण धराबासी, शारदा सिलवाल, विष्णु शर्मा, बाबुराम खरेल लगायत नेजा सदस्य तथा स्थानीय नेपाली समुदायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । नव स्थापित संचार संस्था ग्लोबल नेपाल मिडिया तथा यसका पार्टनरहरु इनास र आवर इजी सलुसनले अन्तरक्रियाको लागि नेजालाई स्थान उपलब्ध गराएका थिए । डिसिको अन्तरक्रियापछि महासंघका अध्यक्ष दाहालले न्युयोर्कमा रहेका सञ्चारकर्मिहरुसँग पनि भेटघाट गरेका थिए ।