आङछिरिङ शेर्पा/न्युयोर्क
दुई दर्जनभन्दा बढी शेर्पा बालबालिका आफ्नै पोसाकमा उपस्थिति भए । अमेरिकामा जन्मेका उनीहरु गुम्बाभित्र पूजा भइरहदा निकै शान्त थिए । अभिभावकसँगै उनीहरु पूजाको मन्त्र पाठ गरिरहेका थिए । नेपालमै जन्मेका कतिपय बालबालिका अमेरिकामा आफ्नै भाषा बोल्न छाडेका बेला कतिपयले शेर्पा भाषामा बौद्ध धर्मको मन्त्र उच्चरण गरेको देखेर अभिभावक निकै खुसी देखिन्थे ।
गत आइतबार किदुगको गुम्बामा ती बालबालिकाले सिकेको बुद्ध धर्मको आधारभुत ज्ञान र मन्त्र शेर्पा भाषाबाट व्यक्त गरे । उनीहरुले यो ज्ञान शेर्पा किदुगद्वारा विगत एक वर्षदेखि सञ्चालित शेर्पा भाषाको कक्षाबाट लिएका थिए । कक्षा सुरु भएको एक वर्ष पुरा भएको अवसरमा उनीहरुले समूहगत रुपमा र पालैपालो अाफ्नाे क्षमता प्रस्तुत गरेका थिए । उनीहरुलाई सोलुखुम्बु लाप्ची गोङदोकका छोङ्बा शेर्पा लामाले शिक्षा दिएका थिए ।
किदुगको अघिल्लो कार्यसमितिले सञ्चालन गरेको यो कक्षाबाट एक वर्षभित्रमा करिब ६५ जनाले बुद्ध धर्मको आधाभुत ज्ञान लिएका थिए । ‘ हाम्रो सोचअनुसार शुरु गरेको कक्षाले बालबालिकालाई बुद्ध धर्मको आधारभुत ज्ञान र हाम्रो भाषा संस्कार सिकाउन पाउँदा निकै खुसी लागेको छ,’ शेर्पा किदुगका पूर्व प्रवक्ता तथा शेर्पा भाषा कक्षाको सुरुवात गरेका संयोजक ल्हाक्पा तेन्जी शेर्पाले बताए । हरेक शुक्रबार दुई घण्टा दिदै आएको यो शिक्षाले संस्थाको लक्ष्य र उद्देश्य अनुरुपको कार्य गरेको महसुस हुन थालेको उनले बताए । ‘हामीले हाम्रो धर्म र संस्कृतिको बारेमा भावी पुस्तालाई सिकाउन यो कक्षा धेरै महत्वपूर्ण सावित भएको छ,’ ल्हाक्पा तेन्जीले भने । कक्षा सञ्चालनको क्रममा ल्हाक्पा र शिक्षक छोङ्बालाई बौद्ध धर्म गुरु अवतारी लामा टुल्कुले विशेष सहयोगी भुमिका निभाएका थिए ।
त्यस्तै विद्यार्थीलाई संयोजन गर्नेलगायतका विभिन्न कार्यहरुमा स्वयंसेवकको रुपमा अभिभावकहरु पासी शेर्पा, कान्छी शेर्पा र किदुगका वर्तमान सचिव तेम्बा शेर्पाले सहयोग गरेका थिए । ‘मैले गुरुबाट पाएको ज्ञान अमेरिकामा आएर यही जन्मेको बालबालिकालाई दिन पाउँदा निकै खुसी लाग्यो,’ बौद्ध धर्मको शिक्षक छोङबाले भने, ‘हामीले अबको पुस्तालाई यसरी सिकाउन पाए हाम्रो धर्मसंस्कृति संरक्षण हुनेछ ।’ उनकाअनुसार यो कक्षापछि अब दोस्रो तहमा सम्बोटा लिपि सिकाउने योजना रहेको छ । सम्बोटा लिपि जानेपछि हाम्रो भाषा र संस्कृति सजिलै जानिन्छ प्रशिक्षक लामाले बताए । बालबालिका विद्यालयबाट फर्के वित्तिकै गुम्बाको कक्षामा आउछन् ।
हरेक शुक्रबार बेलुकी ७ बजेदेखि करिब ९ बजेसम्म सिकाउँदै उनको कक्षामा १३ वर्ष मुनिका बालबालिका रहेका छन् । ‘यहाँको हावापानीमा हुर्कन लागेका बालबालिकालाई सिकाउन सजिलो त छैन तैपनि उनीहरुलाई फकाएर भए पनि सिकाउदै आएका छौ ।’
उनले बालबालिकाहरुले कोर्सबुक बनाएर गृहकार्य दिएर सिकाउदै आएका छन् । स्वयंसेवकको रुपमा काम गर्दै आएका उनलाई किदुगले हप्ताको ५० डलर परिश्रमिक दिदैं आएको छ । दक्षिण भारतस्थित मेन्डोलिङ गुम्बाबाट शास्त्री तहको अध्ययन पुरा गरेका शिक्षक छोङ्बाले यसअघि म्यानहटनको सोहोस्थित ट्राइबेकामा रहेको एक चर्चमा पनि विश्वविद्यालयका विद्यार्थीहरुलाई बौद्ध धर्मको आधारभुत शिक्षा दिएका थिए । उनले एक वर्षभित्रमा बालबालिकालाई आधारभुत बौद्ध शिक्षा अन्तर्गत ढोग्ने तरिका, पानी चढाउने, गुरु पदमसंभवको जीवनी, मन्त्र, बुद्धको जीवनी, बुद्धको शरणमा जानुको अर्थ र विवाहमा गाइने स्वागत गीत (स्योर्के) लगायतका आवश्यक ज्ञान दिएका थिए । त्यस्तै मण्डला चढाउने, बज्रसत्वको मन्त्र, बुद्धको शरण जानु अगावैको मन्त्र सिक्नु अघि बुद्धको जीवनको बारेमा ज्ञान लिएका थिए ।
बालबालिकाले यो कक्षा लिएको एक वर्ष पुगेको उपलक्ष्यमा शेर्पा किदुगले गुम्बामा एक विशेष कार्यक्रमको आयोजना गरेको थियो । उक्त अवसरमा बालबालिकाले पालैपालो शिक्षकलाई मण्डल चढाउनुको साथै खादाले सम्मान गरेका थिए । कार्यक्रममा बौद्ध धर्म गुरु लामा टुल्कुले सानै उमेरदेखि यस किसिमको बौद्ध शिक्षा दिन सकेमा हाम्रो धर्म, संस्कृति जोगाउनमा निकै मद्दत पुग्ने बताए । त्यस्तै रिग्सुङ लोप्टाका प्रमुख प्रशिक्षक गिर्मी छोडकले अबको दिनमा अभिभावक र छोराछोरी र दुबैले बौद्ध धर्मकोबारे सिक्नु जरुर भएको बताए । त्यस्तै स्वयंसेवकको तर्फबाट पासी शेर्पाले कक्षालाई नियमित रुपमा सञ्चालन गर्न सबैको सहयोगको जरुर भएको बताउनुका साथै अभिभावकले बालबालिकालाई घरमा कक्षाबारे सरसल्लाह दिनुपर्ने भनाइ राखेका थिए । कार्यक्रममा किदुगका अध्यक्ष उर्गेन शेर्पा, महासचिव तेन्डी शेर्पा र सचिव तेम्बा शेर्पाले शेर्पा समुदायका लागि महत्वपूर्ण कक्षालाई दीर्घाकालिन रुपमा अघि बढाउन किदुगले विभिन्न योजनाहरु बनाएको बताएका थिए । कार्यक्रम बिहानी पूजासँगै सम्पन्न भएको थियो ।