काठमाडाैं । निर्वाचन आयोगले दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा अपराह्न ३ बजेसम्म करिब ५७ प्रतिशत मतदान भएको जनाएको छ ।
आयोग, संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त जानकारीअनुसार अहिले सबै मतदान केन्द्रमा शान्तिपूर्ण एवं उत्साहजनक रूपमा मतदान जारी छ । सबैभन्दा बढी रुपन्देहीमा ६६, चितवनमा ६५, सुर्खेतमा ६३ र मोरङ जिल्लामा ६२ प्रतिशत मतदान भएको केन्द्रले जनाएको छ ।
दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि २५६ निर्वाचन क्षेत्रका सात हजार ७५२ मतदानस्थलका १५ हजार ३४४ मतदान केन्द्रमा मतदान भइरहेको छ । साँझ ५ बजेभित्र मतदान केन्द्रमा प्रवेश गरिसकेका मतदाताले मतदान गर्न पाउने व्यवस्था छ । पहाडी तथा तराई–मधेशका ४५ जिल्लामा भइरहेको दोस्रो चरणको निर्वाचनमा कूल एक करोड २२ लाख ३५ हजार ९९३ मतदातालाई आफ्नो मताधिकार प्रयोग गर्ने अधिकार छ ।