४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

कन्सर्ट जाँदाजाँदा दुईटा पासपोर्ट सकिसकें–सम्झना लामिछाने मगर


२५ मंसिर २०७४, सोमबार  

0
Shares

सम्झना लामिछाने मगर लोकदोहोरीमा चिनिएकी अनुहार हुन् । मिलन लामासँगको ‘घरमा पराल बारीमा बन्सो…’ रामजी खाँडसँगको ‘फूल फूलेर पहेलै भयो’, पशुपति शर्मासँगको ‘उसै त डल्ली नाच्छु हल्ली’ जस्ता गीत बजारमा छाएपछि उनी चर्चाको शिखरमा आइन् । गायनमा डेब्यु भने उनले जुना श्रीषसँग ‘आँशु तथा सालैजो’बाट गरेकी थिइन् ।

रोमान्टिक गीतहरुमा छाएकी उनी आफ्नो गीतमा मोडलिङमा पनि देखिइन् । गायनसँगै मोडलिङमा पनि देखिएपछि भने उनलाई स्टेज कार्यक्रमको ओइरो लाग्यो । अर्घखाँची जुकेनाकी उनी स्टेज कार्यक्रमका लागि उनी ६० जिल्ला पुगिसकिन् । विदेशमा जान तेस्रोपटक पासपोर्ट लिइसकेकी छन् । लोक पप, लोक दोहोरीलगायतका दुईसय बढी गीतमा स्वर दिइसकेकी उनै गायिका सम्झना लामिछाने मगरसँग एभरेस्ट टाइम्सका लागि नेत्र तामाङले गरेको कुराकानीः

स्टेज कार्यक्रमको मौसम आयो, निम्तो कतिको आउदैछ?
अब जाडो सुरु भयो । कार्यक्रम यही बेला हुन्छ । देश विदेशबाट कार्यक्रमको निम्तो आउने क्रम छ । यसपटक अष्ट्रेलिया, दक्षिण कोरिया र युरोपलगायत देशका विभिन्न ठाउँबाट निम्तो आएको छ । तर, यसपटक सबै ठाउँमा जान नसक्ने देखिन्छ । केही ठाउँ मिलाएर जाने प्रयासमा छु ।

त्यस्तो अप्ठेरो के प-यो कार्यक्रममा जान ?
अहिले बाबु सानो नै छ । सात महिना पुग्यो । उसलाई हेरचाह गर्नैप¥यो । त्यसैले पनि आफूलाई कम्फर्ट लाग्ने ठाँउमा मात्र जाने गरेको छु ।

भनेपछि अहिले तपाईंको गायन क्षेत्रमा असर परेको छ ?
असर नै परेको त होइन । केही आराम चाहि मिलेको छ । किनभने पहिले दौडधुप धेरै थियो । अहिले बाबुलाई हेर्दै पहिलेभन्दा केही कम कम कार्यक्रममा गाउन जान्छु ।

विवाह सांगीतिक माहोलले नै जुराइदिएको हो कि ?
सांगीतिक माहोल नै भनौ न । कार्यक्रमका लागि बाहिर जाने क्रममा छोटो चिनजानले हाम्रो बिहे जु¥यो । बिहेभन्दा तीन दिन अघि मात्र उहाँलाई देखेको थिएँ । उहाँले मनपराउनुभयो । मेरो घर अर्घखाँची आउनुभयो । अनि बाआमालाई माग्नुभएछ । मलाई पनि मन प¥यो । त्यसपछि म उहाँसँगै पाल्पा पुगें ।

परिवारको साथ कस्तो छ ?
हाम्रो माइतीघरमा पनि सांगीतिक वातावरण थियो । दिदी आफै पनि गाउनुहुन्थ्यो । हजुरबुवा मिल चलेको तालमा गाउदै नाच्नुहुन्थ्यो । श्रीमान पनि सांगीतिक क्षेत्रमा एकदमै रुचि राख्नुहुन्छ । उहाँकै साथ र सहयोगले म यस क्षेत्रमा अझ राम्रो गर्न सक्छु भनेर अघि बढिरहेकी छु । साथ सहयोग एकदम राम्रो छ ।

तपाईं आफ्नो गीतमा मोडलिङमा पनि देखिनुहुन्छ, मोडलिङ गर्ने रुचि कसरी पलायो ?
मेरो रुचि गायनमा हो । रामजी खाँणसँगको फूल फूलेर पहेंलै भयो भन्ने गीतमा भने मलाई प्रकाश भट्ट दाइले मोडलिङ गर्नुपर्छ भन्नुभयो । मलाई त्यतिबेला सन्चो पनि थिएन । तर, गायक पनि रोलमा आउने भन्नु भएपछि मैले पेन किलर खाएरै मोडलिङमा उत्रे । त्यो गीत राम्रो भएपछि अरुमा पनि नाच्ने आँट आयो ।

मोडलिङलाई पनि गायनलाई झैं निरन्तरता दिनुहुन्छ कि ?
मलाई खासै नाच्न आउँदैन । त्यही पशुपति शर्मा दाईले लेख्नु भएको गीत जस्तै उसै त डल्ली नाच्छु हल्ली हल्ली खालको मात्र हो । स्टेप राम्रोसँग आउँदैन । तैपनि काम चलाउ नाच्न जानेकी छु । गायनमा त मेरो निरन्तरता नै हो । मोडलिङमा चाहि के हुन्छ अझै थाह छैन ।

तपाईंका गीतहरु रोमान्टिक खालका छन्, यस्तै गाउन मन पराउनुहुन्छ ?
मैले गाएका गीतहरु अहिलेसम्म रोमान्टिक नै छन् । तर, मलाई सेन्टिमेन्टल गीत पनि गाउन मन पर्छ । कतिपय गीतहरु दुःखमा गाउनका लागि पनि चाहिन्छ । त्यस्ता गीतहरु गाउन सक्छु ।

गायन यात्रा कसरी सुरु भयो ?
गाउँमा स्कुलमा अलि अलि गाउँथे । काठमाडौं आएपछि दोहोरीमा गाउन थाले । त्यसपछि राष्ट्रिय नाचघरमा केही समय गायन सिकें । त्यो सँगै गायन यात्रा अघि बढ्यो । पहिले पहिले त गीत गाउन नसकेर स्टुडियोबाट बाहिर निस्कन्थे । मन निकै दुख्थ्यो । त्यही दुःखले होला अहिले गाउन जानेकी छु । स्टुडियो देखेर डर लाग्दैन ।

देशबाहिरको यात्रा कसरी सुरु भयो ?
नेपालीहरु विभिन्न देशमा पुग्नुभएको छ । उहाँहरु विशेषगरी लोकदोहोरी गीत मनपराउनुहुन्छ । त्यसमा मलाई सबैभन्दा पहिले युएइमा बबिता राजकोटी मगरले बोलाउनुभयो । त्यसपछि विदेशका कन्सर्टमा निम्तो धेरै आउन थाले । पासपोर्ट २ वटा भरेर सकिसक्यो । तेस्रो लिइसकेको छु ।

प्रकाशित मिति : २५ मंसिर २०७४, सोमबार  ६ : ०१ बजे