पहिलो नेपाली तारा दीपक लिम्बुले अहिलेसम्म १३ सय गीतहरु गाइसकेका छन् । उनले गाएका कैयौं गीतहरुमध्ये ‘यहाँ देशको चिन्ता छ’, ‘मैले माया गर्न जानिनँ.. ’, ‘तिमीलाई सन्चो छैन..’ ‘मैले त्यही भएर मन पराए..’ भन्ने गीतले दर्शकको मन जितेका छन् ।
उनले गाएका यस्ता कैयौं गीतहरु रेडियो र टिभीमा बजिरहेका छन् । गायन यात्राकै क्रममा गायक लिम्बु संसारका अधिकांश देशहरुमा पुगिसकेका छन् । त्यही क्रममा अमेरिकामा दुईपटक आइपुगेका छन् । दुबै पटकको उनको कन्सर्ट भव्यताका साथ सम्पन्न भएको छ । आयोजक र दर्शकहरु दुबै खुसी भएकोमा उनी आफ्नो यात्रा सफलताको अनुभव गर्छन् ।
गत हप्ता किरात याक्थुङ चुम्लुङले आयोजना गरेको चुम्लुङ नाइटमा दर्शकलाई भरपुर मनोरञ्जन दिन पाएकोमा उनी दंग छन् । गीत संगीतमा निरन्तर लाग्दै आएका दिपक लिम्बुसँग न्युयोर्कमा एभरेस्ट टाइम्सले गरेको कुराकानीः
कसरी लाग्नु भयो गायन क्षेत्रमा ?
बाल्यकालदेखि गीत संगीत खुब मन पथ्र्यो । कलाकारिताप्रतिको रुचिको कारण सानैमा नाटकमा अभिनय गर्थे । त्यसपछि निरन्तर गायनमा रुचि राख्दै आए । अभिभावकको सहयोगमा २०५२ सालदेखिन गीतसंगीत क्षेत्रमा लागेपनि गायनको औपाचारिक कक्षाहरु २०५७ सालदेखिन लिएर यो क्षेत्रमा लागेको हो ।
अहिलेसम्म कुन कुन एल्बम बजारमा आएको छ ?
नेपाल तारा लगत्तै धेरै गीतहरु गाउने अवसर मिल्यो । यसै क्रममा पाँच वटा एल्बमहरु नेपाली तारा दिपक लिम्बु, श्रेया, गन्तव्य, श्रोता, श्रब्य र गन्तव्य दोस्रो एल्बम बजारमा आइसकेको छ । अब छैंटौ एल्बमको तयारीमा लागिरहेको छु ।
नेपाली गीत संगीतको अवस्था कस्तो छ ?
नेपाली संगीत क्षेत्रमा पाइरेसीले गर्दा कलाकार र स्रष्टाहरु मारमा परेकै हो । अझै पनि दुःख गर्ने स्रष्टाहरु र गायकहरुको रोयल्टी आउन थालेको छैन । तर पहिला भन्दा अहिले कलाकारहरुलाई देशभित्र र बाहिर कार्यक्रम प्रस्तुत गर्ने राम्रो अवसरहरु पाइरहेको छ । विदेशमा मात्र होइन कहिलेकाही स्वदेशमा पनि राम्रो पनि अवसर मिलेको छ । सबैलाई नहोला तर धेरै जसो यसैमा लागेर पनि बाँचिरहेको छ । सरकारले पनि कपिराइटको लागि पहल गरेको छ ।
अहिले गीत संगीत क्षेत्रमा विकृति आएको देखिन्छ नि ?
अहिले देखिएको विकृतिहरुप्रति सर्जकहरु सजग हुनुपर्छ । कहिलेकाही यही विकृतिसँगै गीत संगीतलाई राम्रो पनि भएको छ । राम्रो र नराम्रो फिल्टर दर्शक र श्रोता गरिरहेको छ । कालान्तर आफै छानिएर राम्रो पनि हुन गइरहेको छ ।
अहिलेसम्म कुन कुन गीत गाउनु भयो ?
जताजता अवसर आउछ त्यतै गाउने क्रममा चलचित्रको गीतहरु, आधुनिक गीतहरु, देशभक्ति गीतहरु, दोहोरी गीतहरु, लिम्बु भाषाको र थारु भाषाको गीतहरु गाए ।
कुन गीत बढी गाउन मन पर्छ ?
गाउँबाटै सिक्दै आएको छापले होला अलि बढि आधुनिक गीतहरु र फिल्मी गीतहरु गाउन मन लाग्छ तर अवसर मिलेमा जुनै गीत पनि गाउँछु । अब चाडै सालैजो र दोहोरी गीत पनि गाउने योजना छ ।
अबको योजना के छ ?
अब यसपछि जापान, त्यहाँबाट युके जान्छु । एल्बमकै तयारीमा लाग्दैछु । जताजता गएपनि म गीत संगीतक्षेत्रमा रमाइरहन्छु । दर्शकको माया र साथ पाएकोले झन निरन्तर लाग्ने हौसला मिलेको छ ।
देश विदेशमा रहेका दर्शकहरुलाई के भन्नुहुन्छ ?
यसपटक म अमेरिका किरात याक्थुङ चुम्लुङको निम्तोमा आएको हुँ । मलाई यहाँसम्म बोलाएर कार्यक्रम आयोजना गरिदिने चुम्लुङलाइ धन्यवाद छ । मेरो गायन यात्रामा साथ दिनु हुने विदेशमा रहेका सम्पूर्ण नेपाली संस्थाहरु र भुटानिज कम्युनीटिका दर्शक श्रोताहरु र सञ्चारकर्मी मित्रहरु सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।