रोशन फ्युवाको नयाँ म्हेन्दोमाया

२०७४ पुष ७, शुक्रबार ०४:४४

काठमाडौं– गायक, संगीतकार, फिल्म निर्देशन अनि मोडल । रोशन फ्युबाको परिचय निकै फराकिलो छ । धादिङ र आसपासतिर बसोबास गर्ने तामाङ समुदायको मौलिक म्हेन्दोमाया गायक र संगीतकारको रुपमा अलग छवि बनाई सकेका उनै रोशन फ्युवाको नयाँ म्हेन्दोमाया गीत हालै सार्वजनिक भएको छ । ‘ङोरी मुपाला बोरी खपला वि, बोरी मुपला का ङोरी खपला…’ (भाग्यमा भएको भागमा परेको कि भागमा भएको भाग्यमा परेको…)’ बोलको गीतको म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक भएको हो । दोस्रो म्हेन्दोमाया म्युजिक अवार्डलाई लक्षित गरी बनाइएको भिडियोमा मान्छेको जीवन मा आइपर्ने समयक्रमलाई देखाउन खोजिएको रोशन बताउँछन् ।

यो गीत रोशन आफैले सिर्जना गरेका हुन् भने संगीत पनि उनकै हो । गाउँनामा भने उनलाई सेलो गायिका जितु लोप्चनले साथ दिएकी छन । यसको म्युजिक भिडियो रोमान्टिक शैलीमा निर्णाण गरिएको छ । अभिनयमा अर्का म्हेन्दोमाया गायिका तथा मोडल छिमी माम्बाले रोशनलाई भरपुर साथ दिएकी छन् । भिडियोमा मोडलिङ समेत गरेका रोशनले म्हेन्दोमाया गाउँदै सोल्टिनीहरुलाई फकाएको दृष्य निकै रोचक छ । भिडियोको निर्देशन राज किङ वाइबाले गरेका छन् भने छायांकन मरुभुमिले ।

चलचित्र क्षेत्रमा पनि रोशनको माग बढ्दो छ । उनले पछिल्लो पटक नेपाली कथानक चलचित्र ‘नीरफूल’मा सहायक निर्देशक र अभिनेताको रुपमा काम गरेका छन् । ‘नीरफूल’को अधिकाँश छायाङ्कन पनि उनी हुर्केकै गाउँ क्षेत्रको सुन्दर रुबी उपत्यकामा गरिएको छ । ‘नीरफूल’मा म्हेन्दोमायाको प्रयोग भए नभएको चाँही उनले खुलाउँन चाहेनन् । ‘नीरफूल हेर्नुहोला’, उनले भनेका छन् ।