चितवन । प्रधानमन्त्री शेरबहादुर देउवाले सम्पूर्ण प्रक्रिया पूरा गरी सत्ता हस्तान्तरण गर्न आफू आतुर रहेको बताएका छन्।
मंगलबार चितवनको सौराहामा हात्ती महोत्सव उद्घाटन गर्दै उहाँले संविधान कार्यान्वयनका लागि महत्वपूर्ण मानिएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न भएकाले अब नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्न आफू आतुर रहेको बताएका हुन् ।
नेपाली काँग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले नेपालको राजनीतिक इतिहासमा भएका महत्वपूर्ण ऐतिहासिक उपलब्धि काँग्रेसले आफ्नै नेतृत्वमा सम्पन्न गरेको छ र त्यही उपलब्धिमध्येको अहिलेको संक्रमणको अन्त्य पनि भएको उल्लेख गरे ।
पर्यटन क्षेत्रको विकासमा सरकार प्रतिबद्ध भएर लागेकै कारण नेपालमा पर्यटकको आगमन बढ्दै गएको बताउँदै प्रधानमन्त्रीले आव २०७२÷७३ मा सात लाख १० हजार पर्यटक आगमन भएको र त्यसबाट मुलुकमा ५० करोड अमेरिकी डलर भित्रिएको जानकारी दिए ।
हात्ती महोत्सवले पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण टेवा पुग्ने भन्दै देउवाले यस्ता महोत्सवले पर्यटक आवागमनमा वृद्धि भई स्वदेशमै स्वरोजगारी सिर्जना गरी पर्यटन क्षेत्रमा संलग्न नागरिकको जीवनस्तर उकास्न सहयोग मिल्ने विश्वास व्यक्त गरे।