१९ मंसिर २०८१, बुधबार | Wed Dec 4 2024

तमु परिवार न्युयोर्कको ल्होछार (नयाँ बर्ष) सम्पन्न


१२ पुस २०७४, बुधबार  

0
Shares

एभरेस्ट टाइम्स, न्युयोर्क ।

गत शनिबार, डिसेम्बर २३ तारिक, साँझ न्युयोर्कको ज्याक्सन हाईट स्थित बेलोजिनो हल अधिकाँश गुरुङ मौलिक पहिरनमा सजिएकाहरुले भरीभराउ थिए । केहि गुरुङ गीत एवं नृत्यहरुको मौलिक साँस्कृतिक प्रस्तुतीसँगै नेपाली गीतसँगीत र नृत्यहरुको प्रस्तुती हुँदा उपस्थित सबै हर्षोल्लास र फेस्टीभ मुडमा देखिएका थिए । तमु ल्होछार (नयाँ बर्ष)को अवसर पारेर तमु परिवार न्युयोर्कले भव्य रुपले तमु ल्होछार-२०७४ मनाउँन आयोजित कार्यक्रम थियो । ल्होछारको समयचक्र चन्द्र पात्रो अनुसार गणना गरिने र विभिन्न बाह्र थरीका जनावरलाई बर्षका रुपमा मान्ने प्रचलन अनुसार ल्होछार मान्ने समुदायले चरा वर्षलाई बिदाई गरी अब कुकुर वर्षलाई स्वागत गरिने छ । तमु (गुरुङ) जातिले पौष १५ देखि वर्ष फेरिने विश्वास गरिन्छ ।

 

उक्त कार्यक्रमलाई दुई चरण गरी सम्पन्न गरियो । संस्थाका अध्यक्ष डमरजंग गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमको पहिलो सत्रको औपचारिक कार्यक्रममा नेपाली महावाणिज्य दूतावास न्यूयोर्कका महावाणिज्यदूत मधु कुमार मरासिनी प्रमुख अतिथी रहेका थिए । उपस्थित अन्य अतिथीहरुमा तमु समाज बाल्टीमोरको प्रतिनिधी हिरालाल गुरुङ, युनाईटेड शेर्पा एशोसियसनका अध्यक्ष उर्गेन शेर्पा, तामाङ सोसाईटी अफ अमेरिकाका अध्यक्ष शान्त थोकर, किराँत याक्थुम चुम्लुङ युएसएका अध्यक्ष दिपेश लिम्बु, मुस्ताङ किदुग युएसएका अध्यक्ष राज कुमार बिष्ट, घ्यालसुम्दो सेवा समाज युएसएका अध्यक्ष राब्घे छिरिङ लामा, कर्मापा सर्भिस सोसाईटी युएसएका अध्यक्ष ठिन्ले चुम्पेल, युनाईटेड किराँत राई अर्गानाईजेशन अफ अमेरिकाको न्युयोर्क च्याप्टर अध्यक्ष केशवराम राई, मगर एशोसिएसन युएसएका न्युयोर्क च्याप्टरका अध्यक्ष सुमन पुन रहेका थिए । त्यस्तै अधिकारबाट नर्बदा क्षेत्री र सन्ध्या गुरुङ, न्युह्याशेयरबाट टिका गुरुङ, स्थानिय चित्र कोने गुरुङ, बाबुराम गुरुङ लगायतका अतिथीहरु उपस्थित रहेका थिए ।

 

तमु परिवार न्युयोर्कका सचिव जेबी गुरुङद्वारा सँचालित कार्यक्रममा उपाध्यक्ष मनिता गुरुङले स्वागत मन्तब्य राख्दै सबैको सहयोग र सहभागीताको प्रशंसा गरेकी थिईन् । तमु ल्होछार शुरु भएको अवसरमा शुभकामना दिदै प्रमुख अतिथी महावाणिज्यदूत मरासिनीले हामी जहाँ गए पनि हामीसँगै बोक्ने भनेको मौलिक सँस्कृती भएको र प्रवासमा तमु (गुरुङ) जातिको मौलिक सँस्कृती जगेर्ना गर्न सँस्थाको भूमिका गहन हुने बताए । समुदायको हितको लागि तमु एकता हुनु पर्ने औल्याउँदै उनले यसतर्फ गम्भीर हुन समेत आग्रह गरे ।

पहिलो सत्रको कार्यक्रम समापन भएको घोषणा गर्नु अगाडी संस्थाका अध्यक्ष तथा ल्होछार कार्यक्रमका सभापति डमरजंग गुरुङले सबैको उचित सहयोग र सहभागिता बढ्दै जाँदा तमु परिवारको आफ्नै साँस्कृतिक भवन ‘गुरुङ घर’ (तमु धिं)को स्थापना सँस्थाको पञ्चबर्षिय कार्ययोजना भएको खुलाए । सँस्था स्थापनाकालदेखि बिविध क्षेत्रबाट सहयोग पुराउँने सदस्य एवं अन्य महानुभावहरुप्रति आभार ब्यक्त गर्दै तमु एकतामा असम्भव केहि नहुने बताए ।

कार्यक्रममा गुरुङ समुदायका अगुवाहरु बाबुराम गुरुङ,चित्र कोने गुरुङ, टिका गुरुङ लगायतले ल्होछारको शुभकामना प्रदान गर्दै तमु परिवार न्युयोर्कले आयोजना गर्दै आएको सामुदायिक हितकारी बिभिन्न रचनात्मक कार्यक्रमहरुको प्रशंसा गरे ।

कार्यक्रमको उद्घाटन गर्ने दुई ज्येष्ठ नागरिक ८० बर्षिय उमा गुरुङ र ६९ बर्षिय जमुना गुरुङलाई बिशेष सम्मान समेत गरियो । आयोजक सँस्थाकी उपाध्यक्ष मनिता गुरुङले खदा र दोसल्ला ओढाएर वृध्दाद्वयलाई सम्मान गरेकी थिईन् ।

कार्यक्रममा तमु परिवारको २२ जना आजीवन सदस्यहरुलाई सदस्यताको प्रमाणपत्र प्रदान गर्नका साथै खदा ओढाएर सम्मान गरिएको थियो । सँस्थाका अध्यक्ष डमरजंग गुरुङ र कार्यक्रमका प्रमुख अतिथिमहावाणिज्यदूत मधु कुमार मरासिनीले संयुक्त रुपमा सदस्यहरुलाई सम्मान गरेका थिए ।

कार्यक्रमको दोस्रो सत्रमा विविध् मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएका थिए । साँस्कृतिक कार्यक्रम संयोजक सुजन गुरुङले ल्होछार-२०७४ मा उपस्थित दर्शकलाई मनोरञ्जन दिन कार्यक्रममा समावेश गुरुङ समुदायमा रहेको मौलिक साँस्कृतिक कलासँगै आकर्षक नेपाली गीत संगीत र नृत्यहरुको बारेमा सँक्षिप्त जानकारी दिएका थिए । सँस्थाका कोषाध्यक्ष शर्मिला घले र साधारण सदस्य बिनोद गुरुङले सँयुक्तरुपमा सँचालन गरेका साँस्कृतिक कार्यक्रममा लगभग ४ दर्जन कलाकारहरुले बिभिन्न सांस्कृतिक कार्यक्रममा आफ्नो कला प्रस्तुत गरेर उपस्थित दर्शकलाई भरपुर मनोरञ्जन दिएका थिए ।

 

कार्यक्रमको शुरुमै बसन्त डान्स सेन्टरको निर्देशक बिजय नकर्मीको कोरीयोग्राफीमा “आयो ल्होछार” बोलको गीतमा समुहगत नृत्य गर्दै अतिथीहरुलाई खदाका साथमा सगुन दिएको नौलो प्रस्तुती निकै आकर्षक थिए । जीत गुरुङ, राजेश थापा, संजोग थापा र ज्योति गुरुङले बिभिन्न आकर्षक गीतहरुबाट दर्शकहरुलाई मनोरञ्जन दिलाएका थिए । तमु समुदायमा चर्चित मौलिक बाह्रमासे घाटु नृत्य न्युयोर्कमा पहिलो पटक प्रस्तुत हुँदा दर्शकदिर्घबाट वाहवाही गुञ्जिएका थिए । उक्त बाह्रमासे घाटु नृत्य चिनु घले चन्द्रकाशी घले र लालमाया गुरुङको समुहले प्रस्तुत गरेका थिए ।

बिजय नकर्मीको कोरियोग्राफमा रुकु राना र बिवेक गुरुङले तमु भाषाको ‘झलल म्रौबा’ (झलल देखिने) बोलको गीतमा र रमेश गुरुङ र तारा गुरुङको जोडीले ‘उहि खोलाको पानी’ बोलको झ्याउरे गीतमा नृत्य प्रस्तुत गरे । त्यस्तै नृत्य निर्देशक धर्मबीर लामाको कोरियोग्राफमा कर्म गुरुङ, कुसुम गुरुङ लगायतको समुहले ‘किनी देउन साईला दाई’ बोलको गीतमा सामुहिक नृत्य गरे । धर्मबीरकै कोरियोग्राफमा मोनिका घले र आशा ह्योल्मोले ‘चरी जस्तै उड्न पाए’ बोलको गीतमा, सुजन गुरुङ र चिनु घले लगायत सम्मिलित समुहले ‘आकाशको जून माया’ बोलको चुड्का गीतमा, मोनिका घले, आशा ह्योल्मो, नीमा गुरुङ र पासाङ शेर्पाको समुहले ‘मेरो प्यारो तमु गाउँ’ बोलको गीतमा, ‘दुर्लुङ गाउँ’ बोलको गीतमा गौरी लामाको एकल नृत्य, दीपशिला गुरुङ, रिन्जीन डोल्मा र साँगे डोल्माको समुहले ‘मलाई गुरुङसेनी देखियो’ बोलको गीतमा साथै ‘धन भन्द मन ठुलो’ बोलको सालैजो भाकाको गीतमा मोनिका घले, माया पुन लगायत सम्मिलित समुहगत नृत्य प्रस्तुत गरेका थिए ।

अनिल गुरुङको संयोजनमा तमु मौलिक साँस्कृतिक नृत्य शेर्का छ्याँटु समुहगत नृत्य कार्यक्रमको अर्को आकर्षक प्रस्तुती रहेको थियो । दर्शकहरुको बिचबाट ढोलक र झ्याली बजाउँदै स्टेजमा प्रवेश गरे पश्चात उनीहरुले निकै लामो समय नाचेको थिए । सुरेन्द्र प्रताप मल्लले भने कमेडी नृत्य गरेर दर्शकलाई हसाउँने प्रयत्न गरेका थिए ।

प्रकाशित मिति : १२ पुस २०७४, बुधबार  २ : १३ बजे